हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर  बालेन्द्र शाहबीच बृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ। सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुशासन र नागरिक आकांक्षाको सम्बोधन गर्ने साझा लक्ष्यका साथ दुवै पक्ष एकतामा पुगेका हुन्। मेयर बालेन्द्र शाह र सभापति रवि लामिछानेले सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको सहमतिपछि आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि बालेन्द्र शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुने सहमतिमा भएको छ ।

नेतृत्व संरचनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् । बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै सबै नेपालीको समतामूलक उन्नतिप्रति प्रतिबद्ध रहने उल्लेख गरिएको छ।  गत भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद तथा घाइतेको योगदानलाई स्मरण गर्दै उनीहरूका परिवारको यथोचित सम्बोधन गरिने प्रतिबद्धता जनाइएको छ ।

सहमति अनुसार आगामी दिनमा आवश्यक नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक तथा सामाजिक उन्नयनलाई गति दिँदै अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ । बृहत् एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने सहमति भएको छ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख गरिएको छ ।

त्यसैगरी बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र समावेशी बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिनेछ ।  जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने जनाइएको छ । सहमति अनुरूप राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गरिएको छ।

रातो समाचार संवाददाता
थप जानकारी