देशमा हुने विभिन्न निर्वाचनमा परिवारवाद हाबी भएको आरोप लागिरहँदा यसपटकको निर्वाचनमा पनि देशका ठूला भनिएका दलहरूले आफ्नो परिवारभित्र चुनावी राजनीति घुमाएका छन्। राजनीतिमा लामो त्याग र योगदान दिएकाहरूलाई पछाडि पार्दै राजनीतिक नेतृत्व नश्लवादमा हाबी भएको आरोप लाग्न थालेको छ।
गोरखा २ बाट चुनाव लड्दै गरेका माओवादी अध्यक्ष पुस्पकमल दाहालले आफ्ना ज्वाइँ जीवन आचार्यका लागि मोरङ ६(१) सुरक्षित गरेका छन्। अध्यक्ष दाहालको परिवारमा ज्वाइँसँगै बुहारी बिना मगर प्रतिनिधिसभा उम्मेदवार बनेकी छन्। उनले कञ्चनपुर १ मा उम्मेदवारी दिएकी हुन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका पनि श्रीमान्÷श्रीमती उम्मेदवार बनेका छन्। देउवापत्नी आरजु देउवा समानुपातिक बन्दसूचीको खसआर्य (महिला) तर्फ ३ नम्बरमा छिन्। कांग्रेसले कैलाली ५ निर्वाचन क्षेत्रको प्रदेशसभा २ मा सभापति देउवाका भतिजा तथा स्वकीय सचिव प्रकाश देउवालाई टिकट दिएको छ।
एमाले महासचिव दाजु शंकर पोख्रेलको जोडबलमा मेनकाकुमारी पोख्रेललाई एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीमा १ नम्बरमा राखेको छ। उनी एमाले कार्यकर्ता भए पनि राजनीतिमा खासै सक्रिय थिइनन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी उनले जागिरबाट राजीनामा दिएर सांसदको यात्रा सुरु गरेकी हुन्।
रोल्पाली नेता तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका दम्पती यतिबेला प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्। पुन रोल्पाबाट र उनकी श्रीमती ओनसरी घर्ती काठमाडौं २ बाट उम्मेदवार बनेका हुन्। ओनसरी पूर्व सभामुखसमेत हुन् भने वर्षमान पटकपटक मन्त्री भइसकेका छन्। अर्का रोल्पाली माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले छोरी कुश्मा महरालाई उनकै जोडबलमा लुम्बिनी प्रदेशसभामा समानुपातिक सूचीमा खसआर्य (महिला) २ नम्बरमा पारेका छन्।
आफ्नी श्रीमती सीता आचार्यलाई जिल्ला समन्वय समिति रोल्पाको प्रमुख बनाउन सफल लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती पूर्वीरुकुमबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन्। एमाले सचिव रघुवीर महासेठ दम्पती पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। महासेठ धनुषा ४ बाट र उनकी श्रीमती जुली महतो धनुषा ३ बाट उम्मेदवार बनेकी छन्।
माओवादी नेता अग्नि सापकोटाले भतिजा माधव सापकोटाकालाई आफ्नो क्षेत्रमा ल्याएका छन्। एमाले उपाध्यक्ष रामबहादुर थापाले पनि श्रीमती नैनाकला थापालाई समानुपातिकबाट सांसद बन्ने सूचीमा राखेका छन्। उनको नाम आदिवासी जनजाति (महिला) तर्फ १ नम्बरमा रहेको छ।
माओवादी उपमहासचिव शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी प्रतिनिधिसभामा खसआर्य (महिला) को पहिलो नम्बरमा छिन्। माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बागलुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्दा उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा परेकी छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ मा सांसदको ढोका खोलेका छन्।
गृहमन्त्री बालकृष्ण खाण दम्पती पनि यसपटक उम्मेदवार छन्। खाण रूपन्देही ३ बाट उम्मेदवार छन् भने उनकी श्रीमती मञ्जु खाणको नाम समानुपातिकको बन्दसूचीमा खसआर्य (महिला) तर्फ ६ नम्बरमा रहेको छ। यसपटक अन्य दलभन्दा माओवादी परिवारवादमा हाबी भएको यो तथ्यांकले देखाएको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्