मुगुको बाम गाउँका आइते बुढाले जीवनको अधिकांश समय हाट र भोटबाट भारी बोक्दै बिताए। हिमाली जिल्ला हुम्लासँग सिमा जोडिएको बामबाट हाट (तराई) र भोट (चीन) पुगेर फर्कन महिना दिन लाग्थ्यो। ‘१२ वर्षको हुँदादेखि हाट–भोट गर्न लागेको हुँ,’ ६५ वर्षका बुढाले भने, ‘हाट जाँदा पनि एक महिना लाग्थ्यो, भोट जाँदा पनि त्यतिनै समय लाग्थ्यो।’

मुगाली हाट (नेपालगञ्ज) गएर लत्ता–कपडा ल्याउँथे। भोटमा नुन ल्याउँथे। ‘एक पटक हाट र एक पटक भोट गरेर वर्षका दुई महिना बिताउँथ्यौं,’ उनले भने, ‘अहिले आँगनमै सडक छ, पैसा मात्रै हुनुपर्‍यो, गाउँमै सबै चिजबस्तु किन्न पाइन्छ।’ साविकको कर्णालीमा सडक पुगेको धेरै समय भएको छैन। २०६४ सालमा कर्णाली राजमार्ग खुलेसँगै जुम्लासम्मको यात्रा सहज भयो। २०७३ मा मुगु सदरमुकाम गमगढीसम्म गाडी आउन थाल्यो। अहिले पनि हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिएको छैन।

बेलायती सहयोगमा मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएको छ। बुढाको बाम गाउँ हुँदै यो सडक चंखेली हिमाललाई छेको पारेर हुम्लाको दक्षिणी भूभागसम्म पुग्छ। बामका धर्मसिंह बढुवाल गाउँमा सडक पुगेपछि धेरै कुरा सहज भएको बताउँछन्। ‘सडकले महिनौ लगाएर पिठ्यूमा बोक्नुपर्ने भारी बिसाएको छ, बिरामी हुँदा सहजै अस्पताल पुग्न पाएका छौं,’ बढुवालले भने, ‘गाउँको उत्पादन पनि बिक्री गर्न पाएका छौं, सडकले सुविधासँगै समृद्धि पनि ल्याएकोे छ।’ बाम गाउँमा उत्पादन हुने स्याउ र बहुमूल्य जडिबुटी अहिले सहजै बजारसम्म पुग्ने गरेको छ। ‘पहिले–पहिले डोकोमा बोकेर बजार पुर्‍याउँदा दुःख अनुसारको मूल्य पाइदैनथ्यो, स्याउ त कहिल्यै बिक्री गरेनौं,’ उनले भने, ‘अहिले सडक पुगेसँगै घर–आँगनबाटै फलफूल र जडिबुटी बिक्री हुन थालेको छ।’

१ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक बेलायत सरकारले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्‍यो। सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरे। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जान्छन्।’

मुख्यमन्त्री शाहीले मुगुलाई हुम्लाको दक्षिणी भेगसँग जोड्ने सडकको धेरै महत्व रहेको बताए। यो सडकले मुगुको गमगढी हुँदै हुम्लाको सल्लीसल्लामा कर्णाली करिडोरलाई भेट्छ। कर्णाली करिडोर कालिकोटको खुलालुबाट सुरु भएर चीनको सिमा हिल्सासम्म पुग्छ। चीनसम्म पुग्नका लागि यो बैकल्पिक मार्ग पनि हो। ‘यो सडक चीनसम्म पुग्ने बैकल्पिक मार्ग पनि हो,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारले उच्च प्राथमिकता दिएर यसको मर्मत संभारको काम गर्छ।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेको बताइन्। ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत ४.५ मिटर चौडा मोटरेवल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको छ,’ राजदूत पोलिटले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो।’

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ। ६७ किलोमिटर सडक मध्ये मुगुमा ३३ किलोमिटर र हुम्लाम ३४ किलोमिटर पर्छ। यो सडकमा चार वटा पुल निर्माण गरिएका छन्। राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको बताइन्। ‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकायहरु एक ठाउँमा हुँदा ठूलो परिवर्तन संभव छ भन्ने देखाउँछ,’ उनले भनिन्।

राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको बताइन्।

अक्टोबर २०१८ बाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सयबढी स्थानीय श्रमिकहरुलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरु सहभागी भएको उनले जानकारी दिइन्। ‘महिलालाई पनि पुरुष सहर ज्याला दिएर काममा लगाइएको थियो,’ उनले भनिन्, ‘सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखबढी आम्दानी गर्न पनि सफल हुनु भएको थियो।’

नागरिक न्युजबाट साभारछ ।