प्रतियोगिताको क्रममा खिचिएको तस्बीरहरु ।

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोलखामा जारी १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मकवानपुरको टिमले हालसम्म ५ पदक दिलाएको छ । शनिबारबाट भीमेश्वर नगरपालिकामा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत चरिकोटमा आइतबार एथ्लेटिक्स तर्फ दोस्रो दिनको खेल सकिँदा सम्म मकवानपुरले १ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र १ वटा काँस्य पदक जित्न सफल भएको एथ्लेटिक्स तर्फका सदस्य तथा मकवानपुर टिमका निर्णायक राजाराम पोखरेलले जानकारी दिएका छन् ।

१०० मिटरको दौडमा सुविन लामाले मकवानपुरका लागि रजत पदक दिलाउन सफल भएको निर्णायक राजाराम पोखरेलले बताएका हुन् । ४०० मिटरको दौडमा सम्भव माझीले रजत, ८०० मिटरको दौडमा सचिन थिङले स्वर्ण र लङ जम्पमा सुविन लामाले रजत पदक जितेको निर्णायक पोखरेलले बताए । यस्तै, ४ गुण ४ सय मिटरको रिले दौडमा हरिकृष्ण बलामी, सचिन थिङ, सम्भव माझी र सुशान्त थिङको समूहले मकवानपुरलाई तृतीय स्थानमा राख्ने सफल भएको उनले बताए ।

एथ्लेटिक्सतर्फको खेलमा भोलि त्रिपल जम्प, २०० मिटरदौड र ४ गुण १०० रिले मिटरदौडको सञ्चालन हुन बाँकी रहेको उनले बताए । प्रतियोगितामा मकवानपुरबाट ११ जना खेलाडीहरुले सहभागिता जनाएको उनले बताए । उनका अनुसार जिल्ला खेलकुद विकास समितले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट प्रत्येक विधामा प्रथम भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको थियो । एथ्लेटिक्सतर्फको प्रतियोगितामा प्रभाकर पाँण्डेले संयोजकको भूमिका निर्वाह गरेका छन् ।