गत चैत ६ गते मोरङको लेटाङमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको शरीरमा गोली लागेको पुष्टि भएको छ ।

मोरङको लेटाङ नगरपालिका– ५ मा भएको हिसात्मक झडपमा प्रहरी जवान २६ वर्षीया श्रेष्ठको मृत्यु भएको थियो । घटनापछि प्रहरीले श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको बताएको थियो । तर पोष्टमार्टम रिपोर्टले शरीरमा गोली रहेको पुष्टि गरेको छ ।

मोरङ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फायर आम इन्जुरी’ लेखिएको छ ।

लेटाङ– ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको भन्दै कक्षा ७ मा अध्ययनरत विद्यार्थीले उजुरी दिएपछि विद्यालयले जनप्रतिनिधिको उपस्थीतिमा शिक्षक पौडेललाई सोधपुछ गरेको थियो ।

पटक पटक यौन दुव्र्यवहारको घटनामा जोडिएका शिक्षक पौडेललाई जोगाउन खोजिएको भन्दै आक्रोशित विद्यार्थी र अभिभावकले सुरु गरेको प्रदर्शन हिंसात्मक हुँदा प्रहरी जवान श्रेष्ठमाथि आक्रमण भएको थियो र उनको मृत्यु भएको थियो । घटनामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० जना भन्दा धेरै घाइते भएका थिए ।

हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । तर मृतकको शरीरमा भेटिएको गोली प्रहरीले बोक्ने हतियारसँग म्याच नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तराज कोइरालाले बताए । प्रहरीले प्रदर्शनकारीले नै गोली प्रहार गरेको दावी गरेको छ । तर हतियार र गोली चलाउने व्यक्तिको पहिचान भएको छैन ।

लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ । तीमध्ये एक नाबालकसहित १५ जनालाई श्रेष्ठको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा चलाउने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हत्या अभियोग लागेका नाबालक थुनछेक बहसपछि अभिभावकको रोहबरमा छुटेका छन् ।

गोली प्रहार गर्ने व्यक्ति र हतियारको विषयमा अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक कोइरालाले बताए । अनुसन्धान अवधि ९२५ दिन भित्रै मुद्दा अदालतमा बुझाएपनि थप विषय अनुसन्धान भइरहेको उनले बताए ।

‘हतियार बोकेका मान्छे को थिए रु कसले हान्यो भन्ने पक्षमा पनि अनुसन्धान गरियो,’ उनले भने, ‘ तर कसले हान्यो रु कहाँबाट हान्यो भन्ने खुल्न सकेको छैन ।’

बरामद गोली प्रहरीको हतियारसँग नमिलेको उनको भनाइ छ । ‘पछि खुलेका बखत पूरक प्रतिवेदन बुझाउन सकिन्छ,’ उनले भने, ‘फायर आर्म्स इन्जुरी देखाएपछि सबै एङ्गलबाट अनुसन्धान गरियो, तर अहिलेसम्म यकिन हुन सकेन ।’

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको थियो । १६ जना बालक पनि प्रतिवादी रहेको घटनामा एउटा मुद्दा मंगलबार नै दर्ता भएको थियो । बुधबार थप दुई मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ ।

पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, १४ जनालाई कर्तव्य ज्यान, थप ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।