उसु तर्फको प्रतियोगिताको क्रममा खिचिएको तस्बीर । फाइल तस्बीर ।

हेटौंडा । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगितामा उसुतर्फको खेल सकिएको छ । आइतबार काठमाडौं महानगरपालिकाको दश्रथ रंगशालामा उसुको तर्फको सम्पूर्ण विधाका खेलहरु सम्पन्न भएको हो । उसुमा मकवानपुरबाट १ जना छात्रातर्फकी खेलाडीले मात्र पदक दिलाउन सफल भएको मकवानपुरका टिम प्रशिक्षक विमल थापा मगरले जानकारी दिएका छन् ।

उसुमा मकवानपुरबाट ४८ केजी तौल समूहबाट छात्रातर्फ मनिषा विश्वकर्मा द्वितीय हुँदै रजत पदक दिलाउन सफल भएकी टिम प्रशिक्षक विमल थापा मगरले बताए । प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १२ जना खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक मगरले बताए । प्रतियोगितामा ६ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो ।

उनका अनुसार सानसोको फाइट विधामा ४२, ४५ र ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने थाइलोको प्रदर्शनी विधामा प्रतिस्पर्धा गराइएको थियो । यस्तै, नानछ्वाङ, छानछ्वाङ् र ताइची विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हुनु अघि समयतालिका मिलाएर बिहान र बेलुकाको समयमा प्रशिक्षण दिने गरिएको उनले बताए ।

खेलाडीहरुलाई खेल स्थानमा भ्रमण गराउन र खेलको अनुभव गराउनका लागि ३ दिन पहिलानै काठमाडौंको खेल स्थानमा लगेको निर्णायक विश्वनाथ पाठकले बताए । यस वर्षको प्रतियोगिताका लागि बन्द प्रशिक्षण नभएको कारणले पनि केहि प्रभाव पारेको उनले बताए ।