यो समाचार नागरिक न्युजबाट साभार गरिएको होवैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनकै उम्मेदवारलाई सघाउने भएको छ।

पार्टीको केन्द्र र उच्चस्तरीय पाँच दलीय गठबन्धनको संयन्त्रले गठबन्धन कार्यान्वयन गराउन निर्देशन दिएपछि जसपाले आफ्ना उम्मेदवार निष्कृय बनाएर मेयर र उपमेयरमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भएको ७ बुँदे सहमतिलाई मंगलबार लोकतान्त्रिक वाम गठबन्धनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जसपाले अब गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघालाई नै समर्थन गर्दै सहयोग गर्नेछ। धरानमा गठबन्धन दलहरुबीच मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।

वडाको सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा जसपा गठबन्धनबाट बाहिर रहेर मेयर, उपमेयरसहित १५ वटा वडामा उम्मेदवारी दर्ता गराएको थियो। मेयर र उपमेयरमा गठबन्धनलाई सघाउने भएपनि वडाहरुमा आफ्नो पार्टीको उम्मेदवारी कायमै रहने पनि जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए। उनले अब आफ्नो पार्टीको सम्पूर्ण शक्ति मेयर र उपमेयरमा गबठन्धनको उम्मेदवार जिताउन लाग्ने पनि बताए। एकीकृत समाजवादीले पनि मेयर र उपमेयरमा उम्मेदवारी दिएको थियो। एकीकृत समाजवादीले भने अवधिभित्रै उम्मेदवारी मनोनयन फिर्ता लिएर गठबन्धनमा सामेल भएको थियो।

गठबन्धनमा रहेको चार दलीय गठबन्धनबीच भएको ७ बुँदे सहमतिमा नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघालाई सघाउने उल्लेख छ। यस्तै, धरानको वडा नं ४ मा गठबन्धन दलहरुले नेकपा एकीकृत समाजवादीलाई सघाउने सहमति भएको छ भने सबै दलले आफ्नो उम्मेदवारी नदिएको वडाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई सघाउने र गठबन्धन नभएको वडाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने पनि सहमति छ।

यसैगरि, गठबन्धन दलका उम्मेदवारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ। यस्तै, जसपाले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेदवारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेदवारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्नेलगायत सहमति भएको छ भने विगतमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग् वडामा गठबन्धन गर्दाको सहमतिको स्वामित्व ग्रहण गर्ने पनि सहमति भएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो