मात्र पाँच महिनाअघि उनी सुनौलो सेक्सोफोनको माधुर्यसँगै ७२ वर्षको उमेरमा एकाएक तन्नेरी वयमा फर्किएका थिए । त्यति बेला भजनशिरोमणि भक्तराज आचार्यको अँगालोमा बाधिँदै गर्दा शुभबहादुर सुनाम अझ चार दशकपछाडि नै पुगे ।

जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ, शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर…

४० वर्षअघि रेडियो नेपालमा स्वरांकित बमबहादुर थापा ‘जिताली’कृत यही गीतको धुन सेक्सोफोनमा सिँगार्दै गर्दा भावविह्वल भक्तराज शुभबहादुरलाई अँगालोमा नबेरी रहनै सकेनन् ।

‘त्यो धुन प्रस्तुत भइरहँदा म भावविभोर भइरहेको थिएँ, र मेरा आँखाबाट आँसु खसिरहेका थिए,’ संगीतकार किरण कँडेल गत १७ वैशाखको त्यो दिन सम्झन्छन्, ‘सेक्सोफोनको धुनबाट यसरी मुर्छित भएको मेरो जीवनको पहिलो घटना थियो त्यो ।’

सम्भवतः शुभबहादुरको अन्तिम सार्वजनिक प्रस्तुति पनि ‘भक्तराज सम्मान’कै पल हुनुपर्छ ।

‘नेपाली चलचित्रका संगीतकार, संगीत गुरु, सेक्सोफोनका शाहबाजको एकल साँझ गर्ने सोच अपुरो रह्यो,’ संगीत अन्वेषक प्रकाश सायमी भन्छन्, ‘यसका निम्ति गायिका रोजी श्रेष्ठ र नेवाः साधना कला केन्द्रले उहाँसित कुरासमेत थालिसकेका थिए ।’

स्वदेशी सेक्सोफोनका ‘बादशाह’ थिए शुभबहादुर । सोमबार बिहान ४ बजे उनीसँगै नेपाली संगीतले सेक्सोफोनको एउटा युग गुमाएको छ ।

‘म ७२ वर्षको भएँ, अझै पनि संगीतमा साधनारत छु,’ संगीतकार सुनाम भन्ने गर्थे, ‘यसैमा जीवन अर्पण गरेँ र बाँचुन्जेल संगीतमै रहन्छु ।’

रेलिमाई रेलिमाई रेलिमाई
लाहुरे दाइको रेलिमाई…

गायिका सुकमित गुरुङको आवाजकृत ‘वेस्टर्न प्mलेभर’को यो गीत नसुन्नै कमै होलान् † ४० को दशकतिर चोक–गल्ली र युवाओठमा झुन्डिएको यो गीत उनै शुभबहादुरले संगीत गरेका थिए ।

‘मुडअफ भएको बेला सेक्सोफोन बजाएर आनन्द लिन्छु,’ छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा अन्तिम पल बिताएका उनी भन्ने गर्थे, ‘धेरै दुःख थियो, भोक बिर्सन पनि म सेक्सोफोनै बजाउँथेँ, संगीतबाट भगवान् पाएँजस्तो लाग्छ । क्रोधित भएको मान्छेलाई पनि संगीतले शान्त पार्छ ।’

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र…?
– स्वरसम्राट नारायण गोपाल

पछिल्लो समय मिर्गौला समस्या झेलिरहेका शुभबहादुर र शम्भुजित बास्कोटाको ‘युगलबन्दी’ ४०–५० को दशकतिर लोभलाग्दो थियो । नेपाली संगीतको ‘स्वर्णिम युग’ कहलिने दशक ‘शुभ शम्भु’बाट शुभबहादुर र शम्भुजितको ‘युगलबन्दी’ चर्चित बन्यो ।

काठमाडौं क्षेत्रपाटीमा जन्मिएका शुभबहादुरको सेक्सोफोनसँग मायाप्रिती अलि छुट्टै पाटोबाट बस्यो । यो यस्तो बाजा हो, जो कोहीले बजाउन र किनीहाल्ने हिम्मत गरिहाल्दैन ।

शुभबहादुरको संघर्ष कालको त झन् कुरै बेग्लै थियो । सेक्सोफोन किन्न त परैको कुरा, देख्नसम्म मुस्किलै हुन्थ्यो । छुन–बजाउन सपनाजस्तै थियो । ‘सेना गएपछि सेक्सोफोनसँग मायामोह नै बस्यो,’ पछिल्लो समय मिर्गौला समस्याबाट पीडित शुभबहादुर सुनाउँथे, सेनामा भर्ती भएकै कारण सेक्सोफोनतिर प्रगाढ रूपमा जोडिन पुगेँ, त्यहाँ एकसेएक सेक्सोफोन हुन्थे ।’

५५ वर्ष संगीत स्याक्सोफोनका साधकको संगत स्वर्णिम पुस्ताका नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, प्रेमध्वज प्रधानदेखि नयाँ पुस्तासम्म रह्यो । नेपाली सेनामा सहायक रथीपछि निवृत्त उनको आयाम संगीतकार, रचनाकार र एरेन्जरसम्म फैलियो ।

हुँ यात्री एउटा
कहानी लेख्ने जंगल पातमा…

भैरवनाथ रिमाल ‘कदम’कृत दीप श्रेष्ठले यो गीत अझै गुन्जिरहनेमध्ये पर्छ । जुन, उनै शुभबहादुरद्वारा संगीत गरिएको हो ।

१४ वर्षको उमेरदेखि सेक्सोफोन बजाउन सुरु गरेका सुनामले झन्डै ६ दशक नेपालको संगीतको सेवा गरे । कुनै समय राजदरबारमा सेक्सोफोन प्रशिक्षक रहेका शुभबहादुर राजपरिवारका सदस्यका ‘संगीत गुरु’समेत थिए ।

राजधानी न्युजबाट साभारछ ।