हेटौंडा । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले तस्करी नियन्त्रणका क्रममा सिमानाक्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा गोलीगोलाबारी भएको छ। प्रहरीका अनुसार मंसिर ७ गते राति करिब १०:४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोली पचरौता नगरपालिका–६ चिकनी टोल नजिक गस्तीमा रहेका बेला भारतको हनुमाननगरतर्फबाट नेपालतर्फ प्रवेश गर्दै गरेका करिब २५ जनाको तस्कर समूहसँग सामना भएको थियो ।
प्रहरीले तस्करलाई रोक्न खोज्नेबित्तिकै समूहले कटुवा बन्दुकबाट दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ। प्रहरी गस्ती टोलीले आत्मरक्षाका लागि 9MM पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गरेको प्रहरीले जनाएको छ। गोली चलाएपछि तस्कर समूह ट्याक्टरसहित भारततर्फ भागेको र घटनास्थल नजिकै छाडिएका मोटरसाइकल तथा अन्य सामग्री प्रहरीले बरामद गरेको हो। खबर प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप फोर्स परिचालन गरी घटनास्थलमा पुगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री
१. BR05BL4154 नं.को बजाज पल्सर मोटरसाइकल
२. BR05B6864 नं.को स्प्लेन्डर मोटरसाइकल
३. BR05BD9821 नं.को बजाज पल्सर मोटरसाइकल
४. BR05AW0501 नं.को हिरो स्प्लेन्डर मोटरसाइकल
५. OPPO कम्पनीको भारतीय सिम प्रयोग भएको मोबाइल
६. सामसुङ कम्पनीको भारतीय एअरटेल तथा नेपाली एनसेल सिम प्रयोग भएको मोबाइल
७. भारतीय नागरिक रन्जित कुमारको नाममा जारी सवारी चालक अनुमति पत्र
प्रहरीले तस्करीमा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।


































प्रतिक्रिया दिनुहोस्