हेटौंडा । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला स्थित सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरुको सहयोगमा मंसिर १ गतेदेखि शुभारम्भ गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान तथा लागूऔषध विरुद्ध १० दिने सचेतना अभियान” लाई सफल बनाउन सबैको सक्रिय सहभागिताको आग्रह गरेको छ।
अभियानको प्रारम्भमा बिहान ८ बजेदेखि घर बहिर्गमन रोक्ने, हस्ताक्षर संकलन तथा विद्युत दीप प्रज्वलनजस्ता कार्यक्रमहरु सम्पन्न गरिएको प्रशासनले जनाएको छ। यस्तै स्थानीय तह र विभिन्न गैर–सरकारी संस्थासँग समन्वय गरी महिला हिंसा प्रतिबन्ध, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक चेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालनमा रहेका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० दिने सचेतना अभियानअन्तर्गत विद्यालय, धार्मिक संस्था, युवा क्लब, महिला समूह लगायत सर्वसाधारणबाट अपराध तथा दुर्व्यवहार विरुद्ध एकजुट हुन अपिल गरिएको छ। विशेषगरी महिला, बालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न सबै पक्ष एकजुट हुनुपर्ने प्रशासनको भनाइ छ।
मुख्य जिल्ला अधिकारी दिक्षा सागर भुसालले सामाजिक विभेद, कुरीति, कु–संस्कार तथा दुर्व्यवहार अन्त्यका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै, “आउनुहोस्, हामी सबै मिलेर यस पवित्र अभियानमा सक्रिय भई असल समाज निर्माणमा हातेमालो गरौँ,” भनी जनसमुदायलाई आह्वान गरे । जिल्ला प्रशासन कार्यालयले सरकारी, गैर–सरकारी संस्था, राजनीतिक दल, पत्रकार, युवा तथा नागरिक समाजसँग अभियानमा सहभागी भई सहयोग गर्न अनुरोध गरेको छ।


































प्रतिक्रिया दिनुहोस्