जिल्ला अस्पताल खोटाङको एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरको अनुपस्थितिमा अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका सिलसिलामा भारत गएका र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।

वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका जिल्ला अस्पतालका निमित्त प्रमुख डा। चतुरानन्द यादवले बताउनुभयो । जिल्ला अस्पतालले मङ्सिर २५ देखि २९ गतेसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको छ ।

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्स–रे हुँदै आएको थियो । अहिले एक्सरे मेशिन बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् ।