स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २५ वटा जलविद्युत् आयोजनालाई तत्कालै प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को प्रक्रिया अगाडि बढाउने अनुमति दिन नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको छ। ती कम्पनले आइपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति पर्खिरहेका छन्।

इप्पानका पदाधिकारीले आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर आइपिओको पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीलाई अनुमति दिन अनुरोध गरेका हुन्। बोर्डले लामो समयसम्म २५ जलविद्युत् कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति नदिएपछि इप्पानले बोर्ड अध्यक्षलाई भेटेर दबाब दिएको हो।

इप्पान कार्यसमितिका एक दर्जनभन्दा धेरै सदस्य सहभागी प्रतिनिधिमण्डलले तुरुन्तै आइपिओ अनुमति दिन अनुरोध गरेका हुने। इप्पान कार्यसमितिका सदस्य प्र्रकाशचन्द्र दुलालले जलविद्युत् कम्पनीहरूकोआइपिओ सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलविद्युत् आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएको बताए।

‘सेयर निष्कासन नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााको काम ठप्प हुन थालेको छ,’ उनले भने, ‘निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था अवस्था रहेको जानकारी गरायौं।’ सदस्य दुलालले आयोजनाको काम यसरी प्रभावित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरू नै सम्पन्न गर्न नसकिने समस्या आउने बोर्डलाई जानकारी गराइएको छ।