उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गर्नुभएको हो । सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्ने हुन्छ ।

महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकाले सबस्टेसन निर्माण गर्दा पनि उद्योगीलाई सस्तो पर्ने दाबी प्राधिकरणको छ । प्राधिकरणले सो क्षेत्रमा पाँच वर्षभित्र दुई हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउन पहल थालेको बताएको छ । सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वको टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा खुल्ने उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुनेगरी विद्युतीय प्रणाली बनाउन लागेको जानकारी दिनुभयो । “तत्काल विद्युत् माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत् आपूर्ति उपलब्ध गराउने छौँ । पर्साको पोखरियामा ४०० केभी र बाराको प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौँ,”

घिसिङले भन्नुभयो । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पु-याउन खोजिएको छ । बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले जानकारी दिनुभयो । सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ । यसबाट प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिने भएको हो । उद्योगलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो