हेटौंडा । हेटौंडामा दोस्रो संस्करणको नगरस्तरीय मैत्रीपूर्ण महिला शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । यही शुक्रबार र शनिबार दोस्रो संस्करणको नगरस्तरीय मैत्रीपूर्ण महिला शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो । बुधबार हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईंटेलले १८ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक समन्वय समितिको व्यवस्थापनमा प्रतियोगिता हुने जानकारी गराएका छन् ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका २० वटा विद्यालयहरुको सहभागिता रहने अध्यक्ष भोगेन्द्र लुईंटेलले बताए । प्रतियोगिता हेटौंडा–१८,हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्धाटन वडाध्यक्ष अनिल कुमार बानियाँले गर्नेछन् । गत वर्ष भन्दा दोब्बर रुपमा यस वर्ष प्रतियोगिताको पुरस्कार राशिको रकम बढाइएको छ ।
यस वर्षको प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा तृतीय र सान्त्वना हुने टिमलाई १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै, विधागततर्फका खेलाडीहरुलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
गत वर्ष हेटौंडा–४,स्थित आधुनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा ज्योति माध्यमिक विद्यालयले हेटौंडा–९,स्थित प्रगति माध्यमिक विद्यालयलाई हराउँदै उपाधि जितेको थियो । फाइनल खेलको समापन कार्यक्रममा वडाध्यक्ष अनिल कुमार बानियाँले अर्को वर्ष वडा कार्यालयको प्रयोजनमा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका थिए । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्