चलचित्रको पर्दामा सुकुमारी भूमिकामा प्रस्तुत हुने अभिनेत्री दिया पुनका लागि जीवनकै सबैभन्दा संघर्षको समय अबको तीन महिना हुनेछ । उनी अदम्य साहस लिएर सगरमाथा शिखर आरोहणका लागि बुधबार सोलुखुम्बुतर्फ लाग्दै छिन् । अबको तीन महिनाभित्र सगरमाथाको शिखर चुम्ने लक्ष्य रहेको छ ।

यिनले अभिनय गरेको पछिल्लो चलचित्र ‘मन्त्र’ प्रदर्शनको तयारीमा छ । यो चलचित्र प्रदर्शन हुँदा यिनी सगरमाथा चढ्ने अभ्यासमा खुम्बुको सगरमाथा बेसक्याम्पमा हुनेछिन् ।

नेपालमा हुर्केर बढे पनि केही वर्षदेखि उनी बेलायत बस्दै आएकी छन् । विदेशी नेपाल आएर सर्वोच्च शिखर सगरमाथा चढेको धेरै भयो । आफ्नै देशको यो शिखर आरोहण किन नगर्ने भनेर उनले सगरमाथा सपना केही वर्षदेखि पालेकी थिइन् । दियाको भनाइमा त्यो सपना अब साकार हुँदै छ ।

करिब तीन महिना यात्रामा आरोहण कार्य सकेर उनी आगामी जेठ अन्तिमतिर काठमाडौं फर्किनेछिन् । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा र मिंमा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दियाले हिमाल चढ्न लागेकी हुन् ।

यता अभिनेत्री दिया पुनलाई सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि उनका सिनेका सहकर्मीले शुभेच्छा दिएका छन् । मंगलबार काठमाडौंमा उनलाई बिदाइ गर्दै गर्दा चलचित्र मन्त्रका कलाकार खुसी देखिन्थे । तर, यी अभिनेत्रीको मुहारमा एक प्रकारको तनाव थियो । उनलाई मन्त्रको टिमले राष्ट्रिय झन्डा र सो चलचित्रको पोस्टर दिएर बिदाइ गरेको छ ।

दियाले सकुशल सगरमाथा आरोहण गरेको खण्डमा सगरमाथा चढ्ने उनी दोस्रो नेपाली नायिका हुने छन् । यसअघि अभिनेत्री निशा अधिकारीले सगरमाथाको आरोहण गरिसकेकी छन् ।

सगरमाथा आरोहणका लागि दियाले आफूलाई पूर्णरूपमा तयार गरिसकेकी छन् । सगरमाथा चढ्ने उद्देश्यले नै उनले यसअघि अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको सफल आरोहण गरिसकेकी छन् ।

दियाको भनाइमा सगरमाथा चढ्नुअघि ६ देखि ८ हजारको शिखर चढेर आफूलाई सोहीअनुसार तयारी गर्नुपर्छ । सो तयारी गर्ने क्रममा यिनले दोस्रो शिखरका रूपमा यसअघि ८ हजार १ सय ६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढिसकेकी छन् ।

दियाको बुझाइमा सगरमाथा चढ्न धेरै तयारी गर्नुपर्छ । पैसा पनि त्यत्तिकै खर्च हुने गर्दछ । यसका लागि आफू तयार रहेको पनि उनले बताएकी छन् । यसपटक सगरमाथा आरोहण गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुने अनुमान उनले गरेकी छन् ।

यो आरोहणमा उनीसँग अन्य तीनवटा संस्था पनि जोडिएका छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), आफू कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र चिल्ड्रेन एन्ड युथ फस्ट नेपालसँग जोडिएर उनी सगरमाथा आरोहण गर्दै छिन् ।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको चलचित्र युनिटले दियालाई सगुनस्वरूप दही खुवाउँदा उनले सबैलाई अंकमाल गरेकी थिइन् । मौसमले साथ दिए ६ अप्रिलमा आफूले सगरमाथाको शिखर चुमेको समाचार सुन्न पाउने विश्वास सिनेकर्मीलाई दिलाएकी छन् ।

सगरमाथा आरोहणको उत्सुकता’bout उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायांकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रस्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थएँ । अब सगरमाथा चढ्ने कोसिस गर्दै छु ।’

‘जीवनमा हरेकले विभिन्न सपना देखेका हुन्छन् । मेरो एउटा सपना सगरमाथा चढ्नु हो र त्यो सपनालाई म यसपटक साकार पर्ने पक्षमा छु,’ मंगलबार चलचित्रकर्मीले राखेको बिदाई समारोहमा यिनले भनिन् ।

अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहण’bout दियाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताए । उनले भने, ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ ।’

चलचित्र वीर विक्रमबाट नायिकाको रूपमा डेब्यु गरेकी दियाले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छन् । अब सगरमाथा आरोहणपछि मात्र नयाँ फिल्मको काममा उनी जुट्नेछिन् ।

यो समाचार राजधानिबाट साभार गरिएके हो