नेपाल राष्ट्र बैंकले वस्तु आयातलाई निरुत्साहन गरेपछि विदेशी वस्तु आयात वृद्धिदर घटेको छ। मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ।

आयातमा कडाइ गरेपछि वस्तुको आयात पनि अघिल्ला महिनाको तुलनामा घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा वस्तु आयात वृद्धि दर ४२.८ प्रतिशत छ। पुसमा यस्तो आयात वृद्धिदर ५१.१३ प्रतिशत थियो। पुसको तुलनामा आयात वृद्धि दर ८.३३ प्रतिशतले कमी आएको छ।

कोभिडपछि वैदेशिक रोजगारीमा आएको गिरावटसँगै रेमिटेन्स आगमनमा कमी र वस्तु आायत वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को वस्तुको आयातमा कडाई गरको थियो। कोभिडपछि विदेशी मुद्रा सञ्चिति घटेर लगातार ओरालो लागेपछि अर्थतन्त्रमा समस्या देखिन थालेको छ। राष्ट्र बैंकले केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो। सुनको कोटा दैनिक २० किलोबाट १० किलोमा झारेको छ।

चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामाग्री, स्याम्पू, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ।

त्यसैगरी सुपारी, केराउ, केरा, छोकडा, सबै प्रकारका घडी, सजावटका सामग्री, डेकोरेसनका सामान, डेरी प्रडक्ट, सबै प्रकारका फूल, जनावरका दाना लगायत वस्तुमा पनि कडाइ गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ। आयातकर्ता कम्पनीले प्रतीतपत्र (एलसी) खोल्दा इन्धनका गाडीमा बैंकबाट ५० प्रतिशत ऋण लिन पाइने व्यवस्था गरेको छ।

आयात वृद्धिदरमा कमी आए पनि मुलुकको व्यापार घाटा भने चिन्ताजनक छ। सात महिनामा कुल ११ खर्ब ४७ अर्ब रूपैयाँको वस्तु आयात भएकामा १ खर्ब ३१ अर्ब रूपैयाँको निर्यात भएको छ। यस आर्थिक वर्ष माघसम्म मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब छ। समीक्षा अवधिमा निर्यात ८८ प्रतिशत बढेको देखिन्छ भने आयात ४२.८ प्रतिशतले बढेको छ। सोयाबिन तथा पामको कच्चा तेल आयात गर्ने र नेपालमा प्रशोधन गरी फेरि निर्यात गरिँदा निर्यातको वृद्धिदर उच्च देखिएको हो।

आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो १३.६ प्रतिशत छ। ७ महिनामा कुल १ खर्ब ५५ अर्ब रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्षको माघसम्म पेट्रोलियम पदार्थको आयात रकमका आधारमा ९३.६ प्रतिशत बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले यसको आयात रकम आगामी महिनामा अझै बढ्ने सम्भावना छ।

रेमिटेन्स आगमनमा कमी आएको छ। साउनदेखि माघ मसान्तसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिटेन्स भित्रिएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा ५ खर्ब ६७ अर्ब रेमिटेन्स भित्रिएको थियो।

विदेशी विनिमय सञ्चिति १७.७ प्रतिशते घटेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १०२४ अर्ब ६० करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ माघ मसान्तमा ३.९ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ४२ करोड कायम भएको छ। २०७८ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ।

शोधनान्तर घाटाको वृद्धिमा कमी आएको छ। पुस महिनाको तुलनामा करिब ६ अर्बले मात्रै शोधनान्तर घाटा बढेको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार शोधनान्तरघाटा २ खर्ब ४७ अर्ब रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा चालु खाता ४ सय १३ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ सय ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड पुगेको छ।

गत आवको माघको तुलनामा चालु आवको माघ महिनामा मुद्रास्फिति ३.१७ प्रतिशत बिन्दुले बढेको छ। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत छ। जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५.९६ प्रतिशत छ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत थियो। त्यसैगरी गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालम ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ माघमा यी क्षेत्रहरूमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति थियो।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो