हेटौंडा । रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले माग गरेको छ । बिहीबार प्रेस सेन्टरका केन्द्रीय महासचिव मनोज घर्ती मगरले एक विज्ञप्ती जारी गर्दै मोरङ जिल्लास्थित विराटनगरबाट प्रकाशित हाम्रो मत दैनिकका कार्यकारी सम्पादक तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य समेत रहेका अर्जुन आचार्यमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रेस सेन्टर नेपालले माग गरेको हो ।

 

रातोपाटी अनलाइन टिमबाट झापा जिल्लाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका पत्रकार आचार्यमाथि बिहीबार दिउँसो नेकपा एमालेका स्वयम सेवक फोर्सका सदस्यहरूले आक्रमण गरेका थिए । आचार्यमाथि नेकपा (एमाले)का स्वयम सेवक फोक्सका सदस्यहरूले भौतिक आक्रमण गर्नुका साथै मोबाइल लुटपाट गरेको भन्दै उक्त प्रेस सेन्टरले आपत्ती जनाएको छ । उक्त आक्रमणबाट आचार्यको आँखा, गाला तथा ढाडमा चोट लागेको थियो भने आक्रमणमा उनको मोबाइल सेट खोसिएको र चस्मा फुटाइएको थियो ।

एमालेको कार्यकताहरूले उनको ज्यान लिने धम्की दिएपछि पत्रकार आचार्यलाई अन्य पत्रकारहरुको सहयोगमा त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो । आक्रमणमा संलग्न एमालेका भोलेन्टेवर सदस्यहरूलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार प्रेस सेन्टरले जोडदार माग गरेका छन् । साथै आक्रमणबाट घाइते भएका पत्रकार आचार्यको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासन तथा सरकारसँग समेत माग गरिएको सेन्टरका महासचिव मनोज घर्ती मगरले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी