प्रतियोगिताको उद्घाटन खेलको विजेता वडा–८ को टिम ।

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका पहिलो संस्करणको स्वर्गीय मनोज मिश्रा स्मृति वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । बिहीबारबाट युवा जागृति क्लबको आयोजनामा वडा नम्बर–६,स्थित लोथर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर–८ ले विजयी सुरुवात गरेको छ । आयोजक वडा नम्बर–६ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै विजयी सुरुवात गरेको वडा नम्बर–८ ले सेमीफाइनलको यात्रा पूरा गरेको छ । खेलको निर्धारित समय गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा वडा–८ का प्रकाश तामाङले निर्णायक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको म्यान अफ द म्याच वडा–८ का रुपेश तामाङ घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् ।

असार २ गते वडा–८ को टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । वडा–८ बाट राजेन्द्र मुक्तानले टिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने अञ्जान लामाले टिम म्यानेजरको भूमिका निर्वाह गरेका थिए । मनहरी गाउँपालिकाको सहयोगमा सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । शुक्रबारको पहिलो खेलमा वडा–३ र वडा–७ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा–१ र आयोजक युवा जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार ४ गते हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भइहरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी