भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।
गृहमन्त्रालयले शुक्रबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।११ माघमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने को आधार के हो रु कसरी छुट्टयाउने भन्ने बारेमा पनि सिफारिस गरेको छ ।
प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागु गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम् सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याई जिम्मेवार बनाउन सुझाव दिइएको छ
भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम् वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदै विभिन्न सुझावहरू दिएको थियो ।
युएई तथा अन्य मुलुकमा श्रम स्वीकृति नलिई गएका व्यक्तिको विवरण अद्यावधिक गर्न कुटनीतिक पहल गरी संयुक्त टोलीहरु खटाउने र अभिलेखीकरण गर्ने,भिजिट भिसासम्बन्धी गुनासो तथा उनुरी सुनुवाई गर्ने संयन्त्र गठन गर्ने लगाएका बुँदा रहेका छन् ।
‘कमाउने व्यक्ति मात्र घुम्न जाओस् भन्ने आधारमा हामीले वार्षिक १० लाख कमाउने र पाँच लाख बैंक ब्यालेन्स भएकालाई मात्र भिजिट भिसामा जान दिने कार्यविधि बनाउन भनेका हौँ,’ सहसचिव फणिन्द्र पोखरेलले भन्नुभयो ‘नयाँ कार्यविधि बनाउने जिम्मेवारी अध्यागमन विभाग र श्रम विभागलाई दिइएको छ । अब कार्यबिधि बनाएपछि कार्यान्वयनमा आउने छ ।’
भिजिट भिसामा विकृति बढेकाले नयाँ मापदण्ड तयार
भिजिट भिसामा पछिल्लो समय विकृति बढेकाले नयाँ मापदण्ड बनाइएको पोखरेलले बताउनुभएको छ । भिजिट भिसामा विभिन्न्न प्रलोभन देखाई विदेश लैजाने र उलपत्र पार्ने प्रचलन बढेकाले नयाँ मापदण्ड बनाइएको उहाँको भनाइ छ ।‘ भिजिट भिसामा विभिन्न कामको प्रलोभन देखाई विदेश लैजाने र कामको प्रलोभनमा विदेशमा जाँदा अलपत्र पर्ने क्रम बढ्दो छ ,यसको नियन्त्रणको लागि पनि नयाँ मापदण्ड तयार गरिएको हो ’उहाँले भन्नुभयो रोजगारी तुरुन्तै पाइने आस देखाएर भिजिट भिसामा विदेश लैजाने गरिएको छ ।’तर, कतिपय मानिस साच्चिकै घुम्नका लागि विदेश जान चाहना राख्ने गरेकाले उनीहरुका लागि यो मापदण्ड जरुरी रहेको उहाँको भनाइ छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो