


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले यहाँको कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नसके अन्तर्राष्ट्रिय पहिचान प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको माध्यमबाटै मुलुकमा समृद्धि प्राप्त हुने भन्दै पर्यटन विकासका लागि नेचर, कल्चर र एडभेन्चरलाई संयोजन गरेर प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।” मन्त्री श्रेष्ठले मूर्त र अमूर्त सम्पदा र जात्रा एवं पर्वको संरक्षण विकासमा सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामाले सबै धर्मावलम्बीको उपस्थितिमा हुने जात्राले सांस्कृतिक एकता प्रदर्शन गरेको बताउनुभयो । पूर्वराजदूत डा गणेश योञ्जनले जात्रा देशको संस्कृतिक पहिचान भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याउनुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नैनकुमार लामाले वर्षमा एक पटक मनाइने जात्रा वर्षदिनमा आफन्त गुमाउने परिवारका लागि एक दिन भए पनि दुःख बिर्साउने माध्यम भएको बताउनुभयो । बौद्ध क्षेत्रमा मनाइने प्रसिद्ध जात्रामध्ये गाईजात्रा तथा रोपाइँजात्रा ऐतिहासिक पर्व मानिन्छ । गोपालवंशी राजा हुँदै मल्ला राजा प्रताप मल्लको पालादेखि यो जात्रा प्रारम्भ भएको मानिन्छ । धार्मिक दृष्टिकोणअनुसार तीर्थस्थलमा मृतआत्माले शान्ति पाओस् भनी दान, दक्षिणा, सत्बीज रोपण गर्ने चलन पाइन्छ । सोहीअनुरूप यस क्षेत्रमा रोपाइँजात्रा मनाइने गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ कल्याण गुठीले संयोजन गरेको उक्त कार्यक्रममा गाईजात्राको प्रतीक प्रदर्शनीका साथै रोपाइँजात्रामा पुरुषलाई सिङ्गारेर हली, बाउसे, रोपार झाँकीसहितको जात्रा प्रदर्शनी गरिएको थियो । सो अवसरमा लाखेनाच पनि देखाइएको थियो भने प्रतियोगितात्मक जात्रामा उत्कृष्टलाई नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।रासस
रासस
प्रतिक्रिया दिनुहोस्