नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्धन गर्ने कुरा पहिलो प्राथमिकता हुन नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नै जनाधारलाई बलियो बनाउँदै एक्लै चुनाव जित्ने तयारी गरिरहेको बताउनुभएको हो ।

वर्तमान गठबन्धन चुनावसम्म कायम रहने भन्ने सन्दर्भमा ‘पहिलो कुरा त निर्वाचनमा सबै पार्टी, विचार र राजनीतिक एजेण्डा अनुसार चुनाव जित्ने कुरा हो । गठबन्धन पहिलो कुरा होइन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘हामीले प्रष्ट भनेका छौं, आफ्नै खुट्टामा उभिने, आफ्नै जनाधार बनाउने र आफ्नै बलबुतामा चुनाव लड्ने हो ।

स्थानीय स्तरमा कहाँ तालमेल गर्ने हो, कसरी गर्ने हो भन्ने विषय हुनसक्छ ।’ उहाँले चुनावमा गठबन्धन गर्दा पनि सत्ता गठबन्धनकै बीचमा होस् भन्ने आफ्नो चाहना भएको तर गठबन्धन बनाएर मात्र चुनावमा जाने भन्ने कुरा सही नहुने बताउनुभयो ।

गठबन्धनका विषयमा नेपाली काँग्रेसको मुख्य नेतृत्व स्पष्ट रहे पनि काँग्रेसको आन्तरिक अन्तरविरोधका कारण कतिपय विषयहरु बाहिर आएको अध्यक्ष प्रचण्डले बताउनुभयो । आन्तरिक विवादहरुमा एकरुपता कायम गरेर यस्ता विषयमा सार्वजनिक टीकाटिप्पणी गर्नु उपयुक्त हुने उहाँको सुझाव थियो ।
आउँदो निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन बन्ने सम्भावना नभएको पनि अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

एमालेभित्र रहेको दम्भ, निषेधको विचार र प्रतिगामी सोचले अहिले नै गठबन्धनको वातावरण बन्नेमा आफूलाई विश्वास नलागेको उहाँले बताउनुभयो । ‘तत्काल फेरि एमालेसँग सहमति हुने सम्भावना कँहीकतै देखिएको छैन । हामी राष्ट्रिय स्वाधीनताको विषयमा एमालेसँग केही सहमति हुनसक्छ भनेर नारायणकाजीजी र म कुरा गर्न नगएको होइन । तर, कँहीकतै एमालेमा सकारात्मक चिज भन्ने केही पनि छैन । अहिले एमालेसँग केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने स्थिति छैन । काँग्रेससँग कति हुन्छ त्यो पनि थाहा छैन ।’ अध्यक्ष प्रचण्डले एमालेबाहेकका बामपन्थी पार्टीहरुसँग गठबन्धन बन्न सक्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनावको तयारीमा पार्टी जुटिसकेको भन्दै सम्पूर्ण नेतृत्व एकजुट र एकमत भएर अघि बढेको बताउनुभयो । एमसीसीका कारण माओवादी फुट्छ कि भन्ने आशंकाको निवारण भएको र स्थानीय तहको चुनावपछि त्यस विषयमा फोरम बनाएर छलफल चलाउने उहाँले जानकारी दिनुभयो । एमसीसीमा लिइएका निर्णय केन्द्रीय समितिबाट अनुमोदन नभए आफूले पार्टी अध्यक्षबाट राजिनामा गर्ने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेकपा एमालेले प्रतिनिधिसभामा गरिरहेको अवरोधको कुनै औचित्य नभएको दोहो¥याउनुभएको छ । सभामुखले संविधान र कानुनको परिधिभित्रै रहेर १३ औं दिनमा राय दिनुपर्ने व्यवस्था अनुसार निर्णय गरेको स्मरण गराउँदै विरोधको अर्थ नभएको बताउनुभयो । सदनको अवरोध कायम रहेमा अवरोधकै बीच सदन चलाइरहने वा विघटन गर्ने दुई मात्र विकल्प रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । यद्यपि अहिलेसम्म संसद विघटन गर्ने विषयमा कुनै छलफल नभएको उहाँको भनाइ थियो ।

चुनाव नजिकै आउँदा राजनीतिक दल परिवर्तन गर्ने, पार्टी प्रवेश र परित्याग गर्ने कुरा स्वभाविक भएको भन्दै त्यसलाई ठूलो रुपमा लिन नपर्ने पनि उहाँले बताउनुभयो ।
पार्टीभित्र एमसीसीको चर्को विरोध गर्ने अनि एमालेमा प्रवेश गर्ने प्रवृत्ति पनि देखापरेको भन्दै अध्यक्ष प्रचण्डले एमसीसीको साँच्चै विरोध गर्ने हो भने नेपाल मजदुर किसान पार्टीमा प्रवेश गर्न सुझाव दिनुभयो । ‘केही साथीहरुको अचम्म के लाग्छ भने एमसिसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाँही अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकोमा जानु, किरणजीकोमा जानु, विप्लवकोमा जानु, मोहनविक्रमकोमा जानु, त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि ।’

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो