- जुम्लामा उत्पादित अर्गानिक स्याउ पाक्नअघि नै बजारमा बिक्री हुने गरेको पाइएको छ । यहाँका स्याउ किसानसँगको समन्वयमा व्यापारीले स्याउ बिक्री गर्न थालेका छन् । कृषिविद् र स्थानीय तहले भदौ मसान्तअघि स्याउ कटनी नगर्न परिपत्र जारी गरे पनि यहाँका किसान र व्यापारीले पछि राम्रो मूल्य नपाउने तर्क गर्दै काँचो स्याउ बिक्री गर्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जुम्लाको काँचो स्याउ बिक्री हुने गरेको पाइएको छ । जिल्लाका काँचो स्याउ काठमाडौं, नेपालगञ्ज, दाङ, धनगढी, विराटनगरलगायतका क्षेत्रमा समेत पुगेको छ । यसैबीच जिल्लाको पहिचानसँग जोडिएको अर्गानिक स्याउको पहिचान जुम्लामा हराउने खतरा रहेको कृषि विज्ञहरुले चेतावनी दिएका छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले काँचो स्याउ नखेल्न कृषक र व्यापारीलाई जानकारी गराएको बताए । पछि उचित मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिपेर जिल्ला बाहिरका बजारमा पठाउने गरेका छन् । तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले पनि भदौ मसान्तअघि स्याउ बाली नगर्न किसानलाई आग्रह गरेका छन् । चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढापाले दुवै स्थानीय तहले स्याउको पहिचान कायम राख्न, बजारको माग पूरा गर्न र भदौ मसान्तअघि स्याउ कटनी नगर्न सूचना जारी गरेको बताए ।रासस



















प्रतिक्रिया दिनुहोस्