हेटौंडा । १६ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी फागुन ११ गतेबाट सुरु हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ११ गतेबाट प्रतियोगिता हुने भएको हो । आइतबार हेटौंडा–४,स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलकुदका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा बसेको बैठकले फागनु १३ गते सम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा ६ विधाका खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले बताएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, उसु, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र कब्ड्डीको खेलहरु सञ्चालन हुने खेलकुदका अध्यक्ष मोक्तानले बताए । प्रतियोगिताको उद्धाटन हेटौंडा–४,स्थित हुप्रचौरमा हुने उनले बताए । भलिबल हेटौंडा–४,स्थित हुप्रचौरको भलिबल कोर्टमा, एथ्लेटिक्स हुप्रचौरमा, उसु, तेक्वान्दो र कराँते हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा उनले बताए । मकवानपुरको विभिन्न पालिकाहरुबाट सम्पन्न भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका,मनहरी गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी लगायतका पालिकाहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएसकेको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिकासहित अन्य केही पालिकाहरुमा प्रतियोगिता हुन बाँकी रहेको बताइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई जिल्ला हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउन, खेलाडीको कलालाई प्रस्पोटन गर्न, उनीहरुको क्षमताको विकास गर्न खेल प्रतिको रुचिलाई बढाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए । उनले राष्ट्रिय र राष्ट्रियतालाई चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह भएकोले यस्ता प्रकारका प्रतियोगिताहरको आयोजना गर्न आवश्यक रहेको बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने मेडल सहित क्रमशःस्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको खेलकुदका सदस्य मदन उप्रेतीले जानकारी गराएका छन् । प्रतियोगितामा १० वटा पालिकाहरुबाट करिब २ हजार जनाको हाराहारीमा खेलाडीहरु सहभागी हुन अनुमान गरिएको उनले बताए ।

गत वर्ष सम्पन्न भएको १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपाधि हेटौंडा उपमहानगरपालिकाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक हासिल गर्दै जितेको थियो भने बकैया गाउँपालिकाले १३ स्वर्ण, ५ रजत र १० कांस्य पदक हासिल गर्दै उपविजेता बनेको थियो । यस्तै तृतीय भएको थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गरेको थियो ।

गत वर्ष इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको थिएन । जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । बैठकमा आर्मी, पुलिस, सहित विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी