जिल्लाको उमाकुण्ड गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरी अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई परिचयपत्र र न्यानो कपडा वितरण गर्ने अभियान चलाइएको छ । त्यस्तै ६५ देखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई नागरिकलाई न्यानोका लागि कम्बल वितरण गरिएको छ ।

गाउँपालिकाले वडा नं. ६ गुप्तेश्वर र वडा नं. ७ भुजीका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई परिचयपत्र र न्यानो कपडा वितरण गरेको छ । अभियानका क्रममा वडा नं. ६ गुप्तेश्वरका ११ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, दुई जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको र २१ जनालाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले बताउनुभयो ।

उहाँका अनुसार वडा नं. ७ का ६५ वर्षदेखि ७५ वर्ष उमेर समूहका तथा अपाङ्गता भएका १७ जना नागरिकलाई न्यानो कपडा र पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत विनिता महतले घरघरमा पुगेर सेवा दिनुपर्ने बताउँदै पालिकाको स्रोत र जनशक्तिका कारण त्यसो गर्न नसकिएको भए पनि वडासम्म पुगेर सेवा प्रदान गर्न लागिएको बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो