सिन्धुली — नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबाट देश विकास संभव नभएको बताएका छन् ।

सिन्धुलीको मरिण गाउँपालिकामा बुधबार आयोजित सभामा महासचिव पोखरेलले दलहरुको गठबन्धनबाट बन्ने सरकारले देश विकास गरेको विश्वको इतिहासमा कहींकतै नभएकाले भिजन भएको नेता, राजनीतिक स्थायित्व र बलियो राजनीतिक दलबाट मात्र संभव भएको बताए ।

 

पाँच दलीय गठबन्धन लेनदेन र स्वार्थको संझौता भएको बताउँदै महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिबिना मुलुकले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे ।

अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचनामा खर्चेका महासचिव पोखरेलले प्रधानमन्त्री बन्न प्रचण्ड दिल्ली दौडाहमा लागेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नको लागि दिल्ली दौडाहमा लागेको सुनेको छु,ु उनले भने, ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर जनतामा गएका छौं । प्रधानमन्त्री विदेशीले बनाउने हो कि जनताले ।’

 

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सत्तालिप्साको आरोप लगाए । जहिल्यै सत्ताभन्दा बाहिर बस्न नसक्ने, सत्ता जस्तोसुकै होस चाहिनेु, उनले भने ‘उनको लागि सत्ता प्यारो छ, चाहे प्रतिक्रियावादीकै किन नहोस् ।’ कांग्रेस नभइ अगाडि बढ्न नसक्ने माओवादी आन्दोलन र हिजो लत्कार्नेहरु अहिले भिख मागिरहेको समेत उनले बताए ।

एमालेले सरकार छाड्दा ढुकुटीमा ८० अर्ब मौज्दात रहेकोमा अहिले तीन खर्ब घाटामा हुनु, महँगी तीन प्रतिशतबाट ७ प्रतिशतमा पुग्नु र विदेशी मुद्रा ११ महिनालाई धान्ने रहेकोमा अहिले ६ महिनामा झर्नुले गठबन्धनको सरकार एक वर्षमै असफल भएको महासचिव पोखरेलको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी केन्द्रिय सदस्य मिथिला फुयाल, जिल्ला संयोजक रामकुमार पौडेल र मरिण गाउँपालिकाका पूर्वपार्टी अध्यक्ष गोपाल बुढाथोकीसहितका नवप्रवेशीलाई महासचिव पोखरेलले एमालेमा भित्र्याएका थिए

समाचार कान्तिपुरबाट

फाइल तस्विर