परराष्ट्र र सुरक्षाविज्ञका रूपमा परिचित प्राध्यापक ध्रुवकुमारको ७५ वर्षको उमेरमा निधन भएसँगै मुलुकले एक निडर प्राज्ञिक व्यक्तित्व गुमाएको छ।
लामो समयदेखि मृगौला रोगबाट पीडित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। विश्वविद्यालयबाट अवकाश पाए पनि पछिल्लोसमय प्राध्यापक ध्रुवकुमारअनुसन्धानमुलक लेख एवं पुस्तकका साथै अखवारी लेखनमा पनि उत्तिकै सक्रिय थिए। सार्वजानिक जीवनमा भने उनी कमै सक्रिय थिए।
ध्रुवकुमारमा न कुनै लोभलालच थियो, न कुनै राजनीतिक दलको चश्माबाट नै आफ्ना धारणा निर्माण गर्थे। बरु, सधैँ सत्तालाई खबरदारी गर्ने एक अब्बल प्राज्ञ थिए। निकै कम तर खर्रो बोल्ने स्वभावका प्राध्यापक धु्रवकुमारको नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा नीति, अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीति निर्माणमा महत्वपूर्ण योगदान रहेको उनका निकट प्राज्ञको अनुभव छ।
नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षाबारे अवधारणा नै नभएको बखतमा अर्थात् चार दशकअघि प्राध्यापक धु्रवकुमारले त्रिभुवन विश्वविद्यालयको नेपाल एसियाली अनुसन्धान केन्द्र (सिनास)मा रहेर यस विषयमा अनुसन्धानमूलक लेख, रचना र पुस्तक लेखेका थिए। प्राध्यापक कृष्ण खनालको भनाइमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा नीतिको आवधारणा स्थापित गर्ने व्यक्ति नै ध्रुवकुमार हुन्। सिनासमा चार दशक सँगै काम गरेका खनाल भन्छन्, ‘नेपालमा चीनसम्बन्धी प्राज्ञिक अनुसन्धान गर्ने ध्रुवकुमार नै पहिलो व्यक्ति हुन्।’ प्राध्यापक ध्रुवकुमारले चीन र नेपालबारेको सम्बन्ध र सुरक्षा नीतिबारे अनुसन्धान गरी राज्यलाई सुझावसहितको प्रतिवेदनसमेत बुझाएका थिए।
‘कहिल्यै कुनै पनि लोभलालच नभएकै कारण धु्रव कुनै पदमा पुगेनन्,’ प्राध्यापक खनालले भने, ‘उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षाबारे गरेका थुप्रै अनुसन्धान, लेख र रचना प्राज्ञिक क्षेत्रका साथै राज्यका लागि उपयोगी दस्तावेज हुन्।’ ०४६ सालपतिको राजनीतिक परिवर्तनपछि उनले सिनासमा सेमिनार आयोजना गरेर अन्तर्राष्ट्रिय राजनीति, संवैधानिक निकाय र नेतृत्व प्रणालीबारे पुस्तक, लेख र रचना प्रकाशित गरेर राज्यलाई ठूलो योगदान गरेको खनालको भनाइ छ। डेढ महिना अघिसम्म पनि इमेलबाट कुराकानी भइरहेको पनि खनालले स्मरण गरे। कान कम सुन्ने गरेका कारण ध्रुवकुमार प्रायः निकटवर्तीसँग इमेलमार्फत् संवाद गर्ने गर्थे।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीका अनुसार धु्रवकुमारलाई पदभन्दा पनि आफ्नो काम प्यारो थियो। ‘धु्रव सर लोभ, लालच र स्वार्थभन्दा धेरै माथि हुनुहुन्थ्यो। झर्रो र टर्रो बोल्नुहुन्थ्यो। स–सना विषयमा पनि बृहत् छलफल गर्ने र छलफलबाटै अध्ययन अनुसन्धान गरी समाधानको उपाय खोज्ने तरिका भने निकै सरल थियो,’ कार्की भन्छन्, ‘मन्थनबाट आउने निष्कर्षले प्राज्ञिक चक्र बनाउँछ भनेर उहाँ सधैं भनिरहनुहुन्थ्यो।
माओसेतुङको अन्तर्राष्ट्रिय नीतिबारे पुस्तक लेखका धु्रवकुमारका सोसल इन्कुल्जन, ह्युमन डेभलपमेन्ट एण्ड नेसन विल्डिङ, इलेक्ट्रोल भ्वाइलेन्स एण्ड भोलाटिलिटी इन नेपाल, नेपाली स्टेट, सोसाइटी एण्ड ह्युमन सेकुरिटीलगायत दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। त्यस्तै डोमेस्टिक क्राइसिस एन्ड गर्भन्वयाविलिटी इन नेपाललगायतका थुप्रै पुस्तक सम्पादन गरेका छन्। प्राध्यापक धु्रवकुमार २०३६ साउनमा सिनास प्रवेश गरेका थिए ०६७ सालमा अवकाश लिएका थिए। उनका एक श्रीमती र तीन छोरी छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्