आसन्न स्थानीयतह निर्वाचनका लागि मनोनयन गर्ने पहिलो दिन आंशिक उम्मेदवारको मात्र मनोनयन परेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र उदयपुरगढी गाउँपालिकामा नाम दर्ता भएको छ।

अन्य बेलका नगर तथा रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको खवर नआएको निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए। उनका अनुसार सबैभन्दा बढी उम्मेदवारी चौदण्डीगढी नगरपालिकामा दर्ता भएको छ। चौदण्डीगढीमा ३ प्रमुख र २ उपप्रमुख गरी ४१ जनाको मनोनयन दर्ता भएको छ।

त्यसैगरी उदयपुरगढीमा २७ जनाको उम्मेदवारी परेको छ। जसमा ३ जना प्रमुख र १ जना उपप्रमुखको उम्मेदवारी परेको छ। यता सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा ४ प्रमुख र १ उपप्रमुखसहित २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकारी कोईरालाको भनाइ छ। त्रियुगाका प्रमुख बलदेव चौधरीले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखमा मनोनयन दर्ता गराएका छन्। उनी (माओवादी केन्द्र) र जनता समाजबादी पार्टीसँगको सहकार्यमा उम्मेदवार बनेका हुन्। उपमेयर भने माओवादीलाई दिने भने पनि अहिलेसम्म मनोनयन परेको छैन।

अर्को नगरपालिका कटारीमा ४ प्रमुख र १ उपप्रमुखको उम्मेदवारी दर्ता भएको छ। नेकपा (एमाले)बाट यसअघिका उपमेयर भीमकुमारी राउतले स्वतन्त्र उम्मेदवार दिएकी छिन्। मजदुर किसान पार्टीबाट मेयरमा चन्द्रबहादुर कार्की र उपमेयरमा धनलक्षी दनुवारको पनि कटारीमा उम्मेदवारी दर्ता भएको छ।

यस पटकको चुनावमा नयाँ दल मंगोल नेशनल अर्गनाईजेसन (एमएनओ)ले पनि उम्मेदवारी दिएको छ। एमएनओले उदयपुरगढी प्रमुख र उपप्रमुख र ७ वडाध्यक्षसहित २१ पदमा मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसैगरी चौदण्डीगढीमा पनि एमएनओबाट प्रमुख र उपप्रमुखसहित ६ जनाको उम्मेदवारी परेको छ।

यता संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ। विप्लवबाट उदयपुरगढी अध्यक्षमा जीतबहाुदर पुलामीले उम्मेदवारी दिएका छन्। उनी नेकपाका जिल्ला कमिटी सदस्य तथा उदयपुरगढी गाउँपालिका इन्चार्जसमेत हुन्।

अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बाक्लै उम्मेदवारी दिएको छ। राप्रपाले चौदण्डीगढीमा प्रमुख र उपप्रमुखसहित ३४ पदमा उम्मेदवारी दिएको छ। राप्रपाले अर्को गाउँपालिका उदयपुरगढीमा पनि आधा दर्जनको उम्मेदवारी दिएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो