नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार टुंगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच बुधबार ६ महानगर र ११ उपमहानगरका प्रमुख र उपप्रमुखहरूको भागबन्डा गरेलगतै पार्टीको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखसहितका उम्मेदवार टुंगो लगाउन प्रयास गर्नेछ। त्यसका साथै प्रदेश र जिल्ला तहले उम्मेदवार टुंगो लगाउन नसकेका नगरपालिका र गाउँपालिकाका लागि उम्मेदवार पनि कार्यसम्पादन समितिले नै तोक्नेछ।
गठबन्धनका दलहरूसँग निर्वाचनमा तालमेल गरेर जाँदा कांग्रेसले तीन महानगर र सात उपमहानगरपालिकाको प्रमुखसहित १७ पदमा भाग पाएको छ। काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख पाएको छ भने भरतपुर, पोखरा र वीरगन्जमा भने उपप्रमुखमा उम्मेदवारी दिने छ। ११ उपमहानगरमध्ये धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीमा आफ्नो भागमा प्रमुख पारेको कांग्रेसले जनकपुर, जितपुर सिमरा, घोराही र हेटौंडामा भने उपप्रमुखमा उम्मेदवारी दिनेछ।
कांग्रेसले ललितपुर महानगरको प्रमुखमा चिरिबाबु महर्जनलाई फेरि दोहोर्याउने सम्भावना छ भने काठमाडौं महानगरको नेतृत्व कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले पाउने नेताहरूले बताउँदै आएका छन्। यद्यपि कांग्रेसको महानगर समितिले सभापति नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैध र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको छ। भरतपुरको उप्रमुखमा कांग्रेसका महानगर सभापति नै उम्मेदवार बन्न सक्ने देखिएको छ। विराटनगरको प्रमुखमा नेताद्वय शेखर कोइराला वा कृष्णप्रसाद सिटौलानिकट नेता उम्मेदवार हुने आकलन गरिएको छ।
एमालेले वैशाख १० मा टुंग्याउने
एमालेले ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र नगरपालिकाहरूको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले वैशाख १० गते शनिबार उम्मेदवार टुंगो लगाउने भएको हो।
वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। ‘आजको बैठकमा उम्मेदवारको सूची प्रस्तुत गर्ने काम भयो, त्यसलाई अध्ययन गरेर वैशाख १० गते बस्ने सचिवालयको बैठकले उम्मेदवार टुंगो लगाउनेछ,’ प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भने। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको सूची प्रस्तुत गरिएको थियो। ती नाममाथि थप छलफल र अध्ययन गरेपछि १० गते बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो।
पोखरामा मेयरको आकांक्षी रहेका राजीव पहारी र कृष्ण थापालाई मेयरको दाबी नगर्न पार्टीले आग्रह गरेको छ। उनीहरू प्रदेश सांसद भएका कारण त्यहाँ रोक लगाइएको हो। यता चितवनमा भने प्रदेश सांसद विजय सुवेदीलाई मेयरका लागि तयारी गर्न निर्देशन दिइएको छ। सुवेदी सर्वसम्मत रूपमा उम्मेदवार चयन भएका थिए। उनको उम्मेदवारीलाई केन्द्रले अनुमोदन गर्न भने बाँकी छ।
उपेन्द्र कुर्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्केपछि उम्मेदवारको टुंगो लगाउने भएको छ। जसपाका वरिष्ठ नेता अशोक राईले कार्यकारिणी समितिको बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तयारी भएको बताए। यसअघि जसपाको केन्द्रीय समितिको बैठकले कार्यकारिणी समितिको बैठक र कारणवश त्यस्तो बैठक बस्न सकेन भने पार्टीका तीनजना नेता संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारणी अध्यक्ष यादव तथा वरिष्ठ नेता राईलाई निर्णय गर्ने अधिकार दिएको छ।
‘अहिले अध्यक्ष ज्यू (उपेन्द्र यादव) काठमाडौं बाहिर हुनुहुन्छ। उहाँ फर्केपछि उम्मेदवारको टुंगो लगाउनेछौं,’ उनले भने, ‘कारणवश कार्यकारिणी समितिको बैठक बस्न सकेन भने हामी तीनजनाले टुंगो लगाउनेछौं ।’ यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ। अहिले उनी मधेसमा छन्। सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै उनी मधेस गएका थिए।
अहिले जसपाका धेरैजसो नेता मधेसमै छन्। जसपाले पार्टीका सबै केन्द्रीय सदस्यलाई चुनाव सम्पन्न नभएसम्म आफ्नो पालिका नछाड्न उर्दी जारी गरेको छ। कार्यकारिणी सदस्यहरूलाई भने पार्टीको काम परेको अवस्थामा काठमाडौं आउन सक्ने सुविधा दिएको छ। बिहीबार जसपाको आर्थिक समितिको बैठकमा निर्वाचनमा खर्च जुटाउने विषयमा पनि छलफल भएको पार्टी नेताहरूले जनाएका छन्।
यसैबीच माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) पनि तल्ला तहका कमिटीबाट नाम लिएर उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि उम्मेदवार छनोटको कसरतमा जुटेको छ। विभिन्न दल र पक्षसँग चुनावी तालमेल गर्ने निर्णयले प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फर्केका बेला उम्मेदवार छनोट चुनौतीपूर्ण बन्ने देखिन्छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्