जजिरा एयरवेजबाट दैनिक उडान
यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न पाँच मुलुकका ११ भन्दा बढी कम्पनीले चासो देखाएका छन् । ती विमान सेवा कम्पनीमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर छन् ।

व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।
अन्य विमान कम्पनीले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणका प्रवक्ता कर्णले बताउनुभयो । “अरू कम्पनीले आफ्नो योजना बनाइरहेका होलान् तर हामी जजिराले सबभन्दा अगाडि इच्छा देखाइसकेकाले हामी उत्साहित भएका छौँ,” उहाँले भन्नुभयो । जजिरा एयरवेजले हाल काठमाडौँ–कुवेत दैनिक उडान गर्दै आएको छ । विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाई कम्पनीको चासो बढी छ तर कुन कुन कम्पनीले उडान सुरु गर्छन् भन्ने अहिलेसम्म यकिन छैन ।

आन्तरिक तयारी तीव्र
विमानस्थलको आन्तरिक काम भने तीव्र रूपमा भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन, सुरक्षा युनिट, आयल निगम, भन्सार स्थापना गर्ने काम भइरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभयो ।

हवाई मार्गमा सहमति जुट्न बाँकी
भारतसँग संयुक्त हवाई मार्ग र वैकल्पिक मार्गलगायतका विषयमा भने सहमति जुटाउन बाँकी छ । भैरहवाका लागि विमान प्रवेशबिन्दु हालका लागि सिमरा मात्रै हो ।
महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा वैकल्पिक मार्गका लागि नेपालले प्रस्ताव गरे पनि भारतले हालसम्म अनुमति दिएको छैन । योसँगै विमानस्थलमा आइपर्ने अन्य समस्या समाधान गर्न भारतसँग संयुक्त हवाई क्षेत्र प्रयोगमा सहमति कायम गर्न विज्ञको सुझाव छ । यसमा कूटनीतिक पहल भएको छैन । प्राधिकरणका प्रवक्ता कर्णले नेपाल र भारतका बीचमा आपसी वार्ता गरेर सहमति कायम गर्नुपर्ने बताउनुभयो ।
यो समाचार गोरखापत्र बाट साभार गरिएको हो