चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले ०७७ साउन ३ मा माडी नगरपालिका–९ कुसुमखोलाका छाप्रामा आगो लगाएपछि ठूलो आलोचना भयो । त्यतिबेला निकुञ्ज प्रशासनले कुसुमखोलाको धुपखोलामा काजीमान र अर्का एक चेपाङको छाप्रोमा आगो लगाएको थियो । आलोचना बढ्दै गएपछि तत्कालीन वनमन्त्री शक्ति बस्नेतले नै प्रशासनले घरमा नभएर गोठमा आगो लगाएको जवाफ दिएका थिए ।
तिनै काजीमान चेपाङको छाप्रोमा आइतबार दिउँसो फेरि निकुञ्ज प्रशासनले आगो लगाएको छ । यो पटक काजीमानको मात्रै नभएर झन्डै एक दर्जन छाप्रामा प्रशासनले आगो लगाएको हो । केही छाप्राहरू भत्काएर त्यसै छाडिएको छ ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले एक पटक हटाइसकेको ठाउँमा फेरि छाप्रा बनाउने क्रम बढेपछि कारबाही गरिएको बताए । ‘१५ वटा छाप्राहरू हटाएको भन्ने छ । एक पटक हटाएको ठाउँमा फेरि गएर धमाधम नयाँ बनाउन थालेपछि बाध्य भएर कारबाहीमा गएका हौं । कति आगो लगाए, कति भत्काएर छाडे त्यसको प्रतिवेदन आउँदै छ,’ सूचना अधिकारी तिवारीले भने ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले घर बनाएर मान्छे बस्न थालेको भन्दा पनि छाप्रा बनाएर ठाउँ ओगट्ने क्रम सुरु भएको हुँदा हटाइएको बताए । ‘अन्य लालपुर्जाका लागि निस्सा बाँड्न थालेका छन् । पहिला हटाएको ठाउँ कुसुमखोलामा गएर बसे निस्सा लालपुर्जा पाइन्छ कि भन्ने आशाले होला केही मान्छेहरू त्यहाँ जान थालेका छन् । हामीले निरन्तर गस्ती गर्ने, घर छाप्रा नबनाउन अनुरोध गर्दै आएका छौं । अटेर गरेपछि हटाउन थालेको हो । आगजनी त नगर्ने भन्ने थियो,’ प्रमुख संरक्षण अधिकृत शर्माले भने । हटाउन नभ्याएर केहीमा आगो लगाएको पनि हुन सक्ने उनले बताए । कुसुमखोलालाई चितवन निकुञ्जले अतिक्रमित बस्ती भनेर हटाउन चेतावनी दिँदै आएको थियो । ०७४ सालमा बाढी गएर तहसनहस भएपछि माडी नगरपालिकाको पहलमा बस्ती स्थानान्तरण सुरु भएको थियो । ०७५ सालबाट बस्ती सार्न सुरु गर्दा कुसुमखोलामा १६० घर थिए । स्थानान्तरण गरेका ठाउँमा घरहरू बनाउँदै जाँदा १९२ घर पुगेको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए ।
सदरमुकाम भरतपुरबाट दक्षिणमा रहेको माडीको अन्तिम किनार हो बगइ । बगइबाट हिँडेर ३ घण्टामा कुसुमखोला पुगिन्छ । हुलाकी सडकबाट दक्षिणमा पर्ने यो ठाउँ जंगलले घेरिएको, रिउ खोलाको आडको कुसुम खोलामा जंगली जनावरहरूको पनि पिरलो थियो । तर जमिन उब्जाउ भएका कारण ०४८ सालपछि त्यहाँ तनहुँ, धादिङ, मकवानपुर र चितवनकै पहाडी क्षेत्रका चेपाङ, तमाङ, भुजेलहरू गएर बस्न थाले ।
माडी नगरपालिकाले बगइ नजिकको प्याउली, ठोरी माडी भरतपुर हुलाकी सडक आडको राइडाँडा, परुइ खोला आड र शिवद्वारमा ल्याएर घर बनाएर राखेको थियो । प्रायः तल झरे पनि काजीमान चेपाङको परिवार झरेको थिएन । सोही कारणले उनलाई हटाउन निकुञ्ज प्रशासनले ०७७ साउन ३ मा काजिमान र अर्का एक जनाको छाप्रोमा आगो लगायो । आगजनीपछि पनि काजीमान तल झरेनन् । छाप्रो जलेकै ठाउँमा नयाँ छाप्रो बनाएर बस्न थाले । उनी नहटेपछि तल झरेकाहरू पनि माथि जान थाले ।
काजीमानको घरभन्दा केही पर रहेको गोठेरीमा नन्दलाल भुजेल भेटिए । उनको छाप्रो पनि आइतबार दिउँसो निकुञ्जले जलाइदिएको थियो । श्रीमती सुनीतासँगै उनी गाईलाई घाँस काट्न जंगल छिरेका बेला घटना भएछ । घरमा डेढ वर्षदेखि ९ वर्षसम्मका साना केटाकेटी मात्र थिए । ‘घाँस काट्दै गर्दा यस्तो हुन थाल्यो भन्ने सुनेर हामी आउँछौं भन्दा त छाप्रो जलेको थियो । केही भाँडाकुँडा र केटाकेटीले पानी खाने बोतलहरू जलेछन् । एउटा डेक्ची बाहिर फाल्देछन् । अरू सामान भित्रै हुँदा आगो लगाएछन्,’ नन्दलालले भने । उनले आफ्ना बाबाआमा र दाइहरूसँगै यो ठाउँमा ०४८ सालदेखि नै बस्दै आएको बताए । अरू तल झरे पनि आफूहरू नझरेको उनले बताए । ‘हट भन्दै त आउँथे । चैत लागेपछि पनि दुई पटक आए । ६ कट्ठा खेत र पक्की घर बनाइदिए मात्रै सर्नेछौं नभए कहाँ जाने भनेको थिए,’ नन्दलालले भने ।
गोठारीमा नन्दलालको घर वरपर नै १४ वटा छाप्रा थिए । त्यहाँभन्दा पर कालीखोलामा ३ वटा छाप्रा बनेका थिए । काजीमानको घर वरपर ५र६ वटा छाप्रा तयार हुँदै थिए । निकुञ्जले प्रायःमा आगो लगाएको र केही मात्र भत्काएर छाडेको उनले बताए । कुसुमखोलाभन्दा अलि परको गाउँ बाँदरझुलामा विभिन्न जिल्लाबाट मान्छेहरू गएर बस्न थालेका हुन् । बाँदरझुलालाई पनि निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको छ । तर त्यहाँ जग्गाको लालपुर्जा दिने प्रक्रिया सुरु गर्न निस्सासमेत बाँडिएको छ ।
कुसुमखोलामा पनि जग्गा पाइने आशामा पहिला बसेकाहरू फर्कन थालेको माडीका स्थानीय बताउँछन् । ‘त्यहाँ बाँकी रहेको काजीमानको घर मात्रै थियो । ०७७ साउन ३ को घटनापछि अदालतले बाहिर प्रबन्ध नगरी उनलाई नहटाउनू भन्ने आदेश गरेपछि नगरपालिकासँग समन्वय गरेर उनलाई सार्न खोज्दाखोज्दै उनी उतै बस्न थाले । उनी बसेको देखेपछि अरु पनि जान खोज्ने नै भए,’ प्रमुख संरक्षण अधिकृत शर्माले भने ।
माडी–९ का वडा अध्यक्ष शिवहरि सुवेदीले आगजनी गर्ने काम ज्यादती भएको टिप्पणी गरे । ‘त्यहाँ नयाँ मान्छेहरू एक वर्षयता गएर बस्न थालेका थिए । हटाउनु आवश्यक थियो तर सम्झाइबुझाइ गरेर स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्नुपर्नेमा त्यसो गरिएन । घरमा बालबच्चा मात्रै भएका बेलामा आगो लगाइएको छ । यो त ज्यादती हैन र रु,’ वडाध्यक्ष सुवेदीले भने । नगरपालिका र सर्वदलीय बैठकलेसमेत कुसुमखोला बस्न उपयुक्त नभएको कारण सार्ने निर्णय गरेको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन् । त्यहीअनुसार सार्ने काम सुरु भएको थियो । काजीमान मात्रै उतै बसेका थिए । काजीमान उतै बस्दै गर्दा बाहिरी जिल्लाबाट अरू नयाँ आउने र पुराना केही पनि फर्कने गरेको मेयर ढकालले बताए । ‘त्यो ठाउँ बसोबासका लागि उपयुक्त छैन भन्ने निष्कर्ष अहिले पनि यथावत् छ । तर फेरि मान्छे आउन थालेपछि उनीहरूलाई त्यहाँ नबस्नुस् भन्नुपर्ने थियो । निकुञ्जले आफ्नो काम गर्दा यसरी आगो लगाउन हुँदैन थियो । आगो लगाउने काम अति नै निन्दनीय छ,’ मेयर ढकालले भने । आगो लगाएको सुनेपछि आइतबार साँझ नै उनी कुसुमखोला पुगेका थिए । सोमबार बिहान उपमेयर ताराकाजी महतो र वडाध्यक्षहरू प्नि गएका थिए ।
यो समाचार कान्तिपुर बाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्