नेपालको दार्चुला र भारतको धार्चुला सीमा छुट्याउने महाकाली नदीको धार परिवर्तन गर्दै भारतीय स्काभेटर नेपालसम्मै आइपुगेको छ। शनिबार बिहानदेखि दार्चुलाको सदरमुकाम महाकाली नगरपालिका–१, कलोनामा महाकालीको धार परिवर्तन गर्दै भारतीय स्काभेटर नेपालतर्फको भूमिमा आइपुगेको हो।

सीमा नदी महाकालीमा तटबन्ध निर्माणको कामलाई तीब्रता दिँदै आइरहेको भारतले एकतर्फी रुपमा शनिबार र आइतबार बिहान  भारतीय स्काभेटर महाकाली नदीको नेपालतर्फको किनारसम्मै आइपुगेको हो। कलोना क्षेत्रमा महाकाली नदीको धार परिवर्तन गर्दै भारतीय स्काभेटर नदी किनारमै आइपुगेको बताउँदै स्थानीय अनिल जोशीले भने,‘महाकाली नदीको धार परिवर्तन गर्दै भारतीय स्काभेटर नेपालतर्फको किनारसम्मै आइपुगेको छ।’

महाकाली नदीको किनारमै पुगेर नेपालतर्फको ढुंगा पन्छाउँदै स्काभेटर अगाडि गएको बताउँदै उनले भने,‘नेपाली भूमि भएरै शुक्रबार भारतीय स्काभेटर कलोन आएको थियो, शनिबार र आइतबार बिहान भने महाकाली नदीका किनारमा नेपालतर्फको ढुंगा भारततर्फको तटबन्धतर्फ लगेको छ।’ भारतीय स्काभेटरले महाकाली नदीको धार परिवर्तन गर्दा त्यसले कलोन गाउँ जोखिममा रहेको उनले बताए। ‘भारतीय स्काभेटरले महाकाली नदीको नेपालतर्फको ढुंगा आफ्नोतर्फ लगेर गयो, अनि हाम्रोतर्फ नदीको धार फर्काई दियो,’ उनले भने,‘जसले गर्दा कलोन गाउँ पूर्ण जोखिममा छ।’

शनिबारदेखि धमाधम कलोन गाउँको तलपट्टि बग्ने महाकाली नदीमा नेपालतर्फको ढुंगा लैजाँदै गरेको बताउँदै उनले भने,‘आज (आइतबार) भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरीको नियमित गस्ती आएका बेला भने स्काभेटर चालकले नेपालतर्फको ढुंगा लैजाँदै गर्दा भागेर पारिपट्टि गए।’ अहिले भने स्काभेटर भारतीय भूमिमा राखेर काम गरिरहेको उनी बताउँछन्। ‘नेपालतर्फ सशस्त्र प्रहरीको टोली परिचालन भएपछि भने भारतीय स्काभेटर नेपालको भूमिबाट आफ्नै भूमिमा फर्केको छ,’ उनले भने,‘तर, सशस्त्र प्रहरीको गस्ती नियमित आइदिएको भए नेपालको ढुंगा बालुवा भारतीय स्काभेटर चालकले पारि लैजाने थिएनन्।’

तर, भारतीय पक्षले महाकाली नदीको धार फर्कदा त्यसले यसपालिको वर्षातमा कलोन गाउँ बग्न सक्ने सम्भावना बढेको उनी बताउँछन्। ‘कलोन गाउँको तल महाकाली नदी बग्छ,’ उनले भने,‘महाकाली नदी पर बग्ने भए पनि स्काभेटरले नेपालतर्फ फर्काइदिँदा त्यसले कलोन गाउँ उच्च जोखिममा परेको छ।’

भारतीय पक्षले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोला–महाकाली नदी किनार–नमसिकार–किम्तडीसम्मको किनारै किनार पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्। भारतीय भूमितर्फको पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी ठाउँठाउँमा तटबन्ध बनाउन थालेको हो। ‘भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ ९ मिटर वरै पुनः स्काभेटर चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ,’ खलंगाका स्थानीय भोजराज जोशीले भने,‘हामीले पटक पटक विरोध गर्दै आएका छौँ, तर पनि केही सुनुवाई भएकै छैन।’

भारतले महाकाली नदी साँघुरिने गरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुग्ने उनी बताउँछन्। ‘महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू–भागमा क्षति पुग्ने निश्चित छ,’उनले भने,‘शनिबार र आइतबार बिहान मात्रै भारतीय स्काभेटर नेपालसम्मै पुगेर नेपालतर्फका ढुंगा लगेर गयो।’ यसले गर्दा नेपालतर्फ नदी फर्कन गई कलोन गाउँ उच्च जोखिममा रहेको उनी बताउँछन्।

अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन। तर, भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्।

अहिले महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि ठूलो तटबन्ध बनाउन थालेको भन्दै स्थानीय पटक–पटक विरोध गरिरहेका छन्। नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको उनी बताउँछन्। ‘हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौँ,’ उनले भने,‘तर भारतले भने महाकाली नदी मिचेर तटबन्ध निर्माण गर्न थालेको छ।’

आइतबार दिउँसो मात्रै कलोन गाउँका स्थानीय युवाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको भूभागलाई क्षति पुग्ने गरी तटबन्ध निर्माण गर्न लागेको भन्दै सो कार्य बन्द गराउन जिल्ला प्रशासनसँग माग गरेको छन्। युवाहरुले भारतीय तटबन्धले कलोन गाउँ जोखिममा परेको भन्दै नेपालतर्फ महाकालीको बहाव फर्काउने कार्य तत्काल बन्द गरिनुपर्ने बताएका छन्।

भारतीय पक्षले विगतदेखि आफ्नोतर्फ तटबन्धको निर्माण कार्य गरिरहेको बताउँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ उपाध्यायले भने,‘उनीहरुले नियमित निर्माणको कार्य गरिरहेका छन्। तर, नेपालतर्फ आएर ढुंगा बालुवा लैजान पाउँदैनन्। र महाकाली नदीको वहाव नेपालतर्फ फर्काउन पाउँदैनन्।’ काम गर्नका लागि वहाव फर्काउनै परे नेपालसँग समन्वय गर्नुपर्ने उनी बताउँछन्। यस विषयमा गृह मन्त्रालयमा पटक पटक जानकारी दिइ सकिएको उनले बताए। ‘हामीले यस विषयमा गृह मन्त्रालयमा खबर गरिसकेका छौँ,’ उनले भने।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो