बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एकरएक जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

धनगढीमा रहेको दृष्टि फाउन्डेशन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुका लागि आवश्यक औषधि स्वास्थ्य कार्यालय बैतडीले व्यवस्था गर्नेछ । निःशुल्करूपमा खाना र बासको व्यवस्थासहित मनोसामाजिक परामर्श फाउन्डेशनले गर्नेछ ।
–––रासस