नवोदयमा पुस्तक परिचर्चा हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो ।

तह ३ मा पुगी व्याच लगाउन उनीहरुले २५० वटा पुस्तक अध्ययन गर्नुपर्ने कक्षा २ का शिक्षक सम्झना थापाले जानकारी दिइन् ।

यसै विषयमा  नेपाली भाषा विभाग प्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले  भने “विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि उनीहरुले २५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछी तह ३ मा पुग्छन् । त्यसपछि १०० वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी गराइन्छ ।”

हरेक महिना यो कार्यक्रमको आयोजना गर्ने गरिएको साथै उनीहरुले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुती गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको रिमालले बताए ।

कक्षा २ की छात्रा अनुष्मा रिमालको सभाध्यक्षता तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।