नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका हेटौंडाका जनरल श्रेष्ठ (जेन)लाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिँदै ।

हेटौंडा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा हेटौंडाका जनरल श्रेष्ठ (जेन) चयन भएका छन् । शुक्रबार हेटौंडा–८,स्थित शुभम पार्टी प्यालेसमा भएको नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनले हेटौंडाका जनरल श्रेष्ठ (जेनलाई) सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । जेन श्रेष्ठ हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका जननिर्वाचित वडा सदस्य समेत हुन् ।

खेलकुद महासंघको उपाध्यक्षमा सीताराम बस्नेत र बाबुलाल थिङ चयन भएका छन् । सचिवमा सुनिल अधिकारी, उपसचिवमा मिलन श्रेष्ठ र सविन भोलन चयन भएका छन् भने कोषाध्यक्षमा विक्रम पाण्डे चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा तथा कमिटीका संयोजक प्रभुनारायण शिवाकोटीको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेन थपलिया, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको अन्य जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।