सप्तरी जिल्लाको खडग नगरपालिका ६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रोसेस झञ्झटिलो हुने भएपछि उनी गाउँकै पैसा लगानीगर्ने महाजन खडग नगरपालिका ७ का रामदेव साहु तेलीलाई भेटे।

पासवानले तेलीसँग २ पटक गरेर १६ लाख ऋण लिए। त्यस वापत उनले आफ्नो १६ कट्ठा १ धुर जग्गा साहु तेलीको नाममा राजिनामा पास नै गरिदिएका थिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन्। पासवानले पहिला पनि तेलीसँग यसरी नै कारोबार गरेका थिए। इमान्दारपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएको थियो।

यसपटक भने पासवानले महाजन तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे पनि जग्गा फिर्ता पाएन्। पासवानले सप्तरीको प्रहरी प्रशासन, अदालत सबैतिर गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो, तर अझै साहु तेली भेटिएका छैनन्।

उनी डेरा सर्दै राजविराज हुँदै पछिल्लो समय धरानमा छन्। यो कुरा थाह पाएका पीडित छेदीलाल मात्र होइन, उनीसहित ७ जनाको टोली शुक्रबार दोस्रो पटक धरान आएका थिए। उनीहरुले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको पत्र बोकेर धरान प्रहरीमा पुगे।

कल्याणपुरले धरान १९ मा बस्दै आएका रामदेव साहु तेलीको घर खानतलासी गरेर पीडितहरुको तमसुक कागज वा ऋण दिएको लिएको विवरण उल्लेख भएको रजिष्ट्रार फेला परे पठाइदिन धरान प्रहरीलाई अनुरोध गरेको छ।

पीडित पासवानले साँझ नागरिकसँग भने, ‘दिनभरि नै धरान प्रहरीमा बस्यौ, तर हाम्रो सुनुवाइ भएन। साहुको घर खानतलासी गरिदिएन। गरिब जनताले न्याय कहिले पाउने?’ छेदीलालसँगै सप्तरीको सुरुङ्गा नगरपालिका ६ का नथुनी साह पनि धरान आएका छन्।

उनले ३० लाख ऋण लिदा १ बिघा ६ कट्ठा जग्गा साहु तेलीको नाममा राजिनामा पास गरेका थिए। एक वर्षभित्रै उनले ५० लाख रुपैयाँ साहु तेलीलाई तिरिसकेको बताउँछन्। ‘मैले एक वर्षमै ५० लाख दिए, अब जग्गा फिर्ता गर्ने बेला मान्छे भागेको भागेकै छ। सुरुमा बैंकमा छ, १ महिना समय देउ भन्यो, अहिले भेटिदै भेटिँदैन,’ साहले भने।

बोदेबर्साइन नगरपालिका ७ का महमद तैयब अली, वडा ९ का सितल यादव, खडग नगरपापिलका ८ का बच्चालाल साह, बोदेबर्साइन ५ का रामप्रसाद खत्वे, शम्भुनाथ नगरपालिका ११ की ललिता देवी मण्डल पनि न्याय पाउने आशामा धरान आएकी छिन्। ललिता देवीले श्रीमान मलेसिया पठाउने बेला साहु तेलीसँग १० लाख ऋण लिएकी थिइन्।

उनले पनि अरुले जसरी नै १५ कट्ठा जग्गा राजिनामा पास गरिदिइन्। श्रीमान्ले विदेशमा कमाएकोसमेत गरेर उनले पटक पटक गरि ३० लाख बुझाइसकेको हिसाब छ। उनले पनि जग्गा फिर्ता पाएकी छैनन्। पीडित छेदीलाल भन्छन्,‘हामीले पैसा सबै तिरिसकेका छौ। उसको मुन्सीको लिखत पनि छ। अब हाम्रो जग्गा फिर्ता गरिदिए मात्र भयो।’

आफूहरुले पटक पटक बसेर हिसाब किताब गरौं भन्दा पनि साहु तेली भागिहिँड्ने गरेको उनले बताए। धरान प्रहरीले पनि गम्भीरतापूर्वक साहु तेलीको खोजी नगरिदिए अनसन बस्ने उनले चेतावनी दिए। पीडक साहु तेलीको छोरीले सप्तरी प्रहरी, प्रशासनमा पटक पटक बुबा ल्याउने, बहिखाता ल्याउने र मुख्सी पनि उपस्थित गराउने भनेर कागज गरेपनि नल्याउने उनको भनाइ छ।

साहु तेलीविरुद्ध ठगी मुद्दा दर्ता भएपनि थप न्याय पाउन नसकेको पीडितहरुको भनाइ छ। ‘हामी त अहिले ९ जना मात्र छौ, उ बाट २५, ३० जना पीडित छन्,’पीडित महमद तैयब अलीले भने, ‘प्रहरीले पनि पीडकलाई नै संरक्षण गरेको जस्तो देखियो। हाम्रो त कुरा नै सुनुवाई भएन।’

धरानका डिएसपी बुद्ध श्रेष्ठले घटनाबारे बुझेर मान्छे पक्राउ गर्न पठाएको बताए। उनले भने, ‘मान्छे पक्राउ गर्न गाडी पठाएको छुँ, थप केही कुरा आएको छैन।’ ठगीको आरोप लागेका साहु तेलीलाई सम्पर्क गर्दा उनले मोवाइल उठाएनन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो