विराटनगर महानगरपालिकाको मेयरका दाबेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी छाडेको घोषणा गरेका छन्।
शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यादवले जसपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरे। पार्टीले गरेको गलत गठबन्धनबाट आफू असन्तुष्टि रहेको हुँदा पार्टी छाडेको बताए। ‘विराटनगर महानगरमा जसपाले चुनाव जित्ने अवस्था थियो,’ यादवले भने, ‘तर, व्यक्तिगत चाहनाले गर्दा गठबन्धन गरेर उपमेयर लिएकोमा आफू पूर्ण रुपमा असन्तुष्ट रहेको हुँदा पार्टीबाट अलग हुने घोषणा गरेको हुँ। विराटनगरमा गठबन्धनको कुनै औचित्य थिएन।’
महानगरमा जसपाको बहुमत हुँदाहुँदै पनि व्यक्तिगत चाहनाका आधारमा काँग्रेससँग जुन गठबन्धन गरेर उपमेयर लिएको आफूलाई ठीक नलागेको हुँदा पार्टीबाट अलग रहेको बताए। २०७४ सालको निर्वाचनमा यादव विराटनगरको मेयरमा पराजित हुँदै तेस्रो स्थान भएका थिए। ‘पछिल्लो ५ वर्ष संगठनलाई मजबुद बनाउँदै मेयरसहित अन्य पद जित्ने आधारमा पार्टीलाई पुर्याएका थियौं,’ यादवले भने, ‘आम कार्यकर्ताको भावन विपरीत संस्थागतभन्दा पनि व्यक्तिगत रुपमा पार्टी चल्ने अवस्था देखेँ। अहिलेको अवस्थामा यहाँ गठबन्धनको कुनै औचित्य र आवश्यकता नै थिएन। पार्टीमा सधैँ अरुले काम गर्ने अनि निर्णय र अवसरमा चाहिँ ठूला नेताको मात्रै हालीमहाली हुने गरेको छ।’
गठबन्धनका नाममा उपमेयरमा सहमति जनाउने निर्णय ठीक नभएको बताउँदै, यादवले भने, ‘जसपा महानगर समितिले उपमेयरमा आफ्नो नाम सिफारिस गरिएको प्रति असन्तुष्टी छ। मेयरमा प्रतिष्पर्धा गरेको मैले कसरी उपमेयरमा उम्मेद्ववारी दिने?’
अहिले तत्काल कुनै पार्टीमा जाने सोच नबनाएको र आइतबार स्वतन्त्रबाट विराटनगरको मेयरमा उम्मेद्ववारी दर्ता गर्ने यादवले बताए।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो


















प्रतिक्रिया दिनुहोस्