तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०७८ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ। यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएका छन्।
चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिलो गरी एक्स्पो सुरु गर्न लागिएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना गर्न लागिएको हो। एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पूर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको बताए।
एक्स्पोमा सहभागी हुने सबै पक्षहरूलाई चैत १९ का लागि तयारी तथा व्यवस्थापन गर्न पनि प्रधानले आग्रह गरेका छन्। साथै प्रधानले एक्स्पोमा सहभागी हुने प्रदर्शकहरू आउने क्रम जारी रहेको भन्दै सहभागी हुन चाहनेलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन्। नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन्।
जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन्। जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ।
जलविद्युत् लगानीकर्ता, उत्पादक, इञ्जिनियरलगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्