घुँडाको चोटका कारण लामो समयदेखि टोलीबाहिर रहेका ज्लाटान इब्राहिमोभिचको एसी मिलानसँगको सम्झौता सकिए पनि क्लबकै लागि खेल्ने क्लबका निर्देशकले संकेत गरेका छन्।

क्लबका निर्देशक पाउलो माल्दिनीले शुक्रबार इब्राहिमोभिचसँगको सम्झौता सकिए पनि क्लबमै रहेर थप फुटबल खेल्ने संकेत दिएका हुन्। स्विडेनका स्ट्राइकर इब्राहिमोभिचले घुँडाको शल्यक्रिया गरेपछि विगत ६ महिनादेखि आराम गरिरहेका छन्। इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले बुधबार स्ट्राइकर इब्राहिमोभिचले बायाँ घुँडाको शल्यक्रियाका कारण करिब आठमहिना मैदानबाहिर रहने जनाएको छ।

‘मेरो बुझाइमा इब्राहिमोभिचको इच्छा क्लबमा निरन्रतता दिने रहेको छ,’ क्लबका निर्देशक माल्दिनीले भने, ‘उनको सम्झौताका लागि क्लबले छलफल गरिरहेको छ। सम्झौताको नजिक पुग्न कुनै समस्या हुँदैन भन्नेमा म आशावादी छु।’ एसी मिलानले आइतबार सासौलोलाई ३–० ले हराउँदै ११ वर्षपछि सिरी ‘ए’ को उपाधि जित्दा इब्राहिमोभिच बेन्चमा रहेका थिए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो