दोस्रो पिरियड छोडेर सरला (नाम परिवर्तन गराएकी एक १५ वर्षीय बालिका) विद्यालयबाट बाहिरिनुभयो । विद्यालयबाट एक किलोमिटर टाढा परालको टौवामा उहाँ पुग्नुभयो । बालिकालाई एकान्तमा बोलाउँदै एक भारतीय नागरिक कुरेर बसेका रहेछन् । मामाघर आएका ती भारतीय युवाले बालिकालाई दुई सातादेखि प्रेमजालमा पार्ने प्रयासमा रहेछन् । सरलाको एक साथीले सरलामाथि भएको घटनाको सबै सूचना विद्यालयमा रहेको सुझाव पेटिकामार्फत विद्यालयलाई दिंदा सरलामाथि न्याय भयो ।

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानाध्यापकको पहलमा सुझाव पेटिकामा राखिएको गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्त सम्बोधनको प्रक्रियामा गएपछि सरलालाई भारतीय युवकको चङ्गुलबाट उन्मुक्ति मिल्यो । बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएपछि अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको एक विद्यालयले जनाएको छ ।

सरला मात्र होइन, विद्यालयमा सुझाव पेटिका राखेपछि कपिलवस्तुका बालिका विभिन्न प्रकारका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिएका छन् । ‘सरले कक्षामा केटीलाई जिस्काउनु हुन्छ । केटीको ढाडमा मुसारेर पिट्नु हुन्छ’ भनेर एक शिक्षकले छात्राप्रति गरेको दुव्र्यवहारको घटना विद्यार्थीले सुझाव पेटिकामार्फत प्रअसँग पुर्याएका थिए । विद्यालयले शिक्षकलाई घटनाको विषयमा सोधपुछ गरेपछि शिक्षकले गलत व्यवहार गर्न छाडेका छन् ।

शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी मा.वि.मा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको प्र.अ. लीला खनालले बताउनुभयो । नियमित रुपमा सुझाव पेटिकका सूचना हेर्न थालिएपछि बालबालिकाले उजुरी गर्नमा सहभागी हुन थालेको विद्यालयका शिक्षकको बुझाई छ ।

सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्वन्धित विद्यार्थी, अभिभावक, गुनासो सुनुवाई समिति राखेर समाधान गर्ने गरेको गुनासो सुनुवाई फोकल शिक्षक शान्ता अर्यालले बताउनुभयो । समयमै गुनासोको सुनुवाइ गर्दा हिंसाको जोखिमबाट मुक्त हुनुभएका विद्यालयको छात्रछात्राले धन्यवाद दिनेगरेको शिक्षकको भनाई छ ।

शुद्धोधन गाउँपालिका मा.वि.का फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा पुनः भर्ना गराउन सफलता मिलेको बताउनुभयो । शिवराज नगरपालिका ९ बानियाभारका प्रअ विक्रम केसीले २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै गुनासो पेटिका राखेको बताउनुभयो ।

युनिसेफ नेपाल र एजुकेशन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधिबारे प्रशिक्षण गरिएको थियो । एजुकेशन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्र.अ. र फोकल शिक्षकलाई गुनासो सुनुवाइ कार्यविधिको विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने विषयमा जानकारी भएको प्र.अ. केसीले बताउनुभयो ।

प्रअकाअनुसार विद्यालयमा अहिले २ स्थानमा गुनासो पेटिका राखिएको छ । एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा छ । गुनासो पेटिका गोप्यरुपमा खोल्ने गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई कुनै समस्या नपर्ने कुरामा विद्यालयले ध्यान दिनेगरेको उहाँको भनाई छ ।

सरस्वती मा.वि. सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीकाअनुसार गुनासो सुनुवाई समितिमा बाल समुहमार्फत बालबालिकाको सहभागिता भइरहेको छ । हाम्रा समस्या सुनुवाई भएको कक्षा ९ मा अध्ययनरत सचिवकुमार आलेले बताउनुभयो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पालिकाले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिका लाभान्वित भएको एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लबराज ओलीले बताउनुभयो ।यो समाचार गोरखापत्र बाट साभार गरिएको हो