सुक्खा मौसम सुरु भएसँगै इलाममा सञ्चालित विद्युत् आयोजनाले क्षमताको आधाभन्दा कम विद्युत् उत्पादन गरिरहेका छन् । यस जिल्लामा सञ्चालनमा रहेका सबैजसो विद्युत् आयोजनाले अहिले ३७ मेगावाट मात्रै उत्पादन गरिरहेका छन् । यहाँको कुल उत्पादन क्षमता ९७ मेगावाट हो । अहिले दुहबी ग्रिडअन्तर्गत गोदक सबस्टेसनमा जोडिएका २५.८ मेगावाटको पञ्चकन्या हाइड्रोको उत्पादन पाँच मेगावाटमा झरेको छ ।

२९ मेगावाटको सानिमामाई हाइड्रोको उत्पादन ७.९ मेगावाट, १२ मेगावाटको सगरमाथा हाइड्रोको उत्पादन २.९ मेगावाट, ९.५ मेगावाटको माईबेनीको उत्पादन २.१ मेगावाट, ७.६ को जोगमाई हाइड्रकोको उत्पादन १.२, ६.२ को लोअर जोगमाईको उत्पादन १.२ मेगावाट, ६.२ को पुवा खोला जलविद्युत् आयोजनाको उत्पादन २.४ मेगावाटमा झरेको गोदक सबस्टेसनका इलेक्ट्रिकल पर्सन महेशकुमार साहले जानकारी दिनुभयो ।

यही सबस्टेसनमा जोडिएका हिमाल दोलखा हाइड्रोको आठ मेगावाटको क्यास्केट आयोजनाको उत्पादन कात्तिक महिनामा आएको बाढीपहिरोका कारण बन्द छ । कात्तिक महिनामा भएको वर्षाका कारण खोलामा पानीको बहाव केही राम्रो भए पनि विद्युत् उत्पादन भने अघिल्लो वर्षको यसै बेलाको जस्तै नै रहेको साहले जानकारी दिनुभयो ।

इलाममा उत्पादन भएको बिजुलीमध्ये पुवा खोला १ को चार मेगावाट, जोशी हाइड्रो र हिमाल दोलखाको उत्पादन भने इलामको तिल्केनी सबस्टेसनबाट इलामलाई वितरण गरिएको साहले बताउनुभयो । “यी तीनवटा आयोजनाले वर्षायाममा त इलामलाई पुग्छ, हिउँदमा भने यहाँबाट पनि तिल्केनी पठाइने गरेको छ तर इलाममा कहिले बिजुली अभाव हुँदैन । दुहबी र दमकमै लाइन बिग्रियो भने पनि यहाँ जम्मा भएको उत्पादन भने आपूर्ति हुन्छ,” साहले भन्नुभयो ।

सुक्खा मौसममा खोलामा पानी कम हुने भएकाले विद्युत् उत्पादन पनि कम हुन्छ । “पूर्वी पहाडकै स्थितिलाई हेर्दा करिब १६१ मेगावाट उत्पादनको कुल क्षमताभन्दा ५० प्रतिशत कम विद्युत् उत्पादन भइरहेको छ । सुक्खा मौसममा आफ्नो उत्पादन कम हुँदा मागलाई धान्न भारतबाट विद्युत् ल्याउनु परिरहेको छ,” उहाँले भन्नुभयो ।

सुक्खा मौसममा उत्पादन नै कम हुने हुँदा सरकारसँग गरिएको खरिद सम्झौता (पीपीए)अनुसार विद्युत् पु-याउनैपर्ने अवस्था रहेको लोअर जोगमाईका इन्जिनियर ईश्वर काफ्लेले बताउनुभयो । “सुक्खा मौसममा अलि कम नै उत्पादनको पीपीए गरिएको हुन्छ तर त्यसअनुसार उत्पादन दिन सकिएन भने आयोजनाले उल्टै पेनाल्टी तिर्नुपर्छ,” काफ्लेले भन्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो