महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेच्ने काम दण्डनीय भएको स्मरण गराएका छन्।

उनले विद्यालयले किताब र पोसाक सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै यो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको बताएका हुन्।

मेयर शाहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ। यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’

उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन्।’सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ,’ उनले लेखेका छन्।

महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएर चैत १७ गते नै प्रेस विज्ञप्ति समेत निकालेको थियो। महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए।