नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलीज भएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ। गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन्।

रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ। भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ। कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए। हमालले आफूले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनतपछि यो गीत तयार भएको बताए।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए।

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो। भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन्। गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो