सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिनुभएको हो। नेता देव गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्दै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो।

गठबन्धनकै आधारमा निर्वाचनसम्म जाने र पुरै निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।

नेता गुरुङका अनुसार एमसीसी परियोजनाको विषयमा दलहरुबीच सहमति नजुटेपछि व्याख्यात्मक टिप्पणीमार्फत् यसलाई अगाडि बढाएको विषय अध्यक्षले प्रष्ट पार्नुभएको छ। बैठकमा एमसीसीको विषयमा थप समीक्षा र मूल्यांकन गर्दै अगाडि बढ्ने विषयमासमेत छलफल भएको उहाँको भनाइ छ।

‘सुरुदेखि एमसीसीको सबै पक्ष, कहाँ–कहाँ राष्ट्रघात छ ? सैन्य रणनीति अन्तर्गत यो राष्ट्रहित प्रतिकूलतामा नै छ। सबैसँग सर–सल्लाह, परामर्श गर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने अवाज उठेको छ’, गुरुङले भन्नुभयो, ‘फरक मतको विषयमा पनि छलफल भएको छ।’

बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे फरक मत राख्नुभएको उहाँले जानकारी दिनुभयो। श्रेष्ठले फरक मत राख्नुभएपछि अध्यक्ष प्रचण्डले पार्टी भित्रको छलफलले पार्टी थप सुदृढ र एकीकृत हुने विश्वास व्यक्त गर्नुभएको छ।

‘पार्टी एकताको विकल्प छैन। छलफल र व्यवस्थापन गर्दै जानुपर्छ। मतभेदका विषय छन् तर पार्टी युनिफाइड भएर अगाडि बढ्नेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै गुरुङले भन्नुभयो।

थप गृहकार्य गरेर माओवादी केन्द्रीय समिति बैठक आइतबार पुनः बस्नेछ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो