बेल्जियम । मकवानपुरे पत्रकार मणिराज गौतमको ‘प्रवासका फूलहरू’ पुस्तकको विमोचन गरिएको छ ।

अन्तराष्ट्रिय साहित्य समाज (अनेसास )आइतबार बेल्जियममा एक समारोहकोबीच नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका गौतमको प्रवासका फूलहरू कृतिको च्याप्टरद्धारा विमोचन गरिएको हो ।

पुस्तक विमोचन गर्दै विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकाशमा ठूलो सहयोग पुग्ने राजदुत गेहेन्द्र राजभण्डारीले बताए ।

पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद दिँदै युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाई अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश रहेको उनको भनाई थियो ।

सोही क्रममा प्रवासका फुलहरु बारेमा लेखक गौतमले करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेको बताए । लेखक गौतले विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसास प्रति आभारी व्यक्त गरेका छन् ।

पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अवस्था,राजनीति ,पारिवारिक अवस्था , वैदेशिक संघर्ष लगायतका वास्तविक कथालाई समावेश गरिएको उनको भनाई छ ।

पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देवकोटाको श्रुति लेखन रहेको पुस्तकको प्रकाशन,लेआउट डिजाइन आकृति क्रियसन राम अविकास र बितरकमा छवि अनित्य रहेका छन् ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाई, अनेसास बेल्जियमका महासचिब गोपाल दाहाल,अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जित, एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले पुस्तकका लागि खुसी व्यक्त गरे ।