बेइजिङ शीतकालीन ओलम्पिकको सुखद समापन भइसकेको छ । हिउँमा खेलिने यो खेलमेला दुई हप्ताभन्दा बढी चल्यो । यसै हप्ता सम्पन्न यस खेलको सफलताबारे गरिएको अड्कल सकारात्मक थिएन । आयोजक चप्नले सबैको साथ नपाएको अवस्था थियो । खेल सुरु हुनुअघि नै यस मेलालाई राजनीतिक रङ दिइयो । अन्तर्राष्ट्रिय जगत्मा केही मुद्दामा चीनको आलोचना भइरहेको थियो ।
कोरोना महामारीको बेला हजारौँ खेलाडी र खेल पदाधिकारीलाई आफ्नो सहरमा बोलाएर यो ओलम्पिकलाई सफल बनाउने काम कम चुनौतीपूर्ण थिएन । खेलकुदमा जहिले पनि खेलाडीको स्वास्थ्य र सुरक्षा सबैभन्दा पहिलो प्राथमिकतामा पर्छ ।
शीतकालीन ओलम्पिक एक विशेष ओलम्पिक खेलमेला हो । त्यसैले यसको आयोजनाको अधिकार धेरैजसो त्यही सहरलाई दिइन्छ, जहाँ धेरै हिउँ पर्छ तर बेइजिङ हिउँ पर्ने सहर पनि होइन । त्यसैले यस खेलको सफलतामा प्रश्नचिह्न थियो तर आफूमाथि लागेको सबै आरोप, मुद्दालाई चिर्दै चीनले बेइजिङ शीतकालीन ओलम्पिकको आयोजना शान्तिपूर्वक र सफल रूपमा सम्पन्न गरेको छ ।
ओलम्पिक खेलकुदको सफल आयोजना गर्नु चानचुने कुरा होइन । विश्वका ९१ देशका खेलाडी बेइजिङमा पुगेका थिए । एक हजार ५८१ पुरुष र एक हजार २९० महिला खेलाडी गरी कुल दुई हजार ८७१ खेलाडी यस खेलमा सहभागी भए । कुल सात खेल तथा १५ इभेन्ट सामेल थियो जसमा सयभन्दा बढी इभेन्टमा कुल १०९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भयो । यो खेल आयोजनापछि बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ । सन् २००८ मा नै ग्रीष्मकालीन ओलम्पिकको शानदार आयोजना गरेर चीनले विश्वलाई चकित पारेको थियो ।
यस खेलका लागि चीनले करिब साढे तीन खर्ब रुपियाँ खर्च ग¥यो । हुन त ओलम्पिकमा विश्वकै नजर हुन्छ । ओलम्पिक आयोजक देशले यो खेलको सफलतालाई आफ्नो इज्जत ठान्छन् । त्यसैले विश्वका समृद्ध राष्ट्रबाहेक अन्य राष्ट्रले ओलम्पिक आयोजनाको दाबेदारी गर्दैनन् । विश्वको एक शक्तिशाली राष्ट्र चीनलाई बेइजिङ शीतकालीन ओलम्पिकको माध्यमबाट आफ्नो देश र सहरको सम्पन्नता देखाउने अवसर पनि मिल्यो । यो खेलका लागि चीनले गरेको ठूलो तयारी र लगानीबाट पनि यसको पुष्टि हुन्छ ।
शीतकालीन ओलम्पिक
विश्व खेलकुदको सबभन्दा ठूलो मेला हो ओलम्पिक । धेरैले ओलम्पिक भन्नाले ग्रीष्मकालीन ओलम्पिक मात्र बुझ्छन् तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिकको आयोजना गर्छ । गर्मीमा खेल्ने खेलहरूको मेला ग्रीष्मकालीन (समर) ओलम्पिक र हिउँमा खेल्ने खेलहरूको प्रतियोगिता शीतकालीन (विन्टर) ओलम्पिक हो । यी दुवै ओलम्पिकको आयोजना प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । दुई ओलम्पिकबीच आयोजना गरिने समय भने दुई वर्ष फरक हुन्छ । जस्तो, पछिल्लो ग्रीष्मकालीन ओलम्पिक जापानको टोकियोमा सन् २०२० मा तोकिएको थियो । कोभिडका कारण टोकियो ओलम्पिक एक वर्ष ढिलो भयो । यसैले यस पटक एक वर्षको अन्तरमा नै यी दुई ओलम्पिक आयोजना गरिए ।
नामले नै थाहा पाउन सकिन्छ, हिउँमा खेलिने खेलहरूको मेला शीतकालीन ओलम्पिक हो । त्यसैले साधारणतया हिउँ पर्ने राष्ट्रलाई मात्र हिउँदे ओलम्पिक आयोजनाको अधिकार दिइन्छ । यो हिउँ नै हिउँको वातावरणमा आयोजना हुने ओलम्पिक हो । हिउँसँग सम्बन्धित इभेन्ट्स यस ओलम्पिकमा सामेल गरिन्छ । आइस स्केटिङ, आइस हकी, फिगर स्केटिङ, स्किइङ, स्नोबोर्डिङ यसका लोकप्रिय इभेन्टहरू हुन् ।
शीतकालीन ओलम्पिकको इतिहास पल्टाउने हो भने यो सन् १९२४ मा फ्रान्समा भएको ओलम्पिकमा पहिलो पटक हिउँमा खेलिने खेललाई सामेल गरिएको थियो । हुन त यसअघि, हिउँमा खेलिने खेलहरूको खेलमेला युरोपेली राष्ट्रबीच स्विडेनमा आयोजना हुने गर्दथ्यो । यसलाई ‘नार्डिक गेम्स’ भनेर भनिन्थ्यो । आईओसीले यो खेललाई ओलम्पिकमा गाभ्ने प्रयास गरेको हो । ‘नार्डिक गेम्स’को मौलिकता सकिन्छ भनेर यसको विरोध पनि नभएको होइन तर सन् १९२० मा ओलम्पिकमा आइस हकी सामेल गरियो । त्यसपछि अर्को ओलम्पिकमा शीतकालीन खेल पनि गाभियो ।
यसरी पहिले शीतकालीन र ग्रीष्मकालीन ओलम्पिकको आयोजना एकै पटक हुन्थ्यो । सन् १९९२ सम्म यो क्रम चल्यो तर बढ्दो प्रतिष्ठा र लोकप्रियतासँगै ओलम्पिकको दायरा फराकिलो हुँदै गयो । आयोजक सहरलाई गर्मीमा खेलिने र हिउँमा खेलिने खेलको आयोजना सँगै गर्न कठिन मात्र होइन, व्यावहारिक पनि भएन । त्यसैले आईओसीले शीतकालीन ओलम्पिक अलग्गै गर्ने निर्णय ग¥यो र सन् १९९४ मा पहिलो पटक शीतकालीन ओलम्पिकको आयोजना भयो ।
राजनीतिक रङ
ओलम्पिक विश्वको सबभन्दा ठूलो खेलकुद मेला हो । खेल भन्नासाथ प्रतिस्पर्धा भइहाल्छ तर ओलम्पिकमा जितलाई भन्दा सहभागितालाई महìव दिइन्छ । खेलको माध्यमबाट विश्वलाई एकजुट बनाउने प्रयास गरिन्छ । ओलम्पिकका पिता ब्यारोन पियरे डि कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार पार्नुभएको हो । ओलम्पिक विश्वका राष्ट्रबीचको सम्बन्ध बलियो बनाउने, सहयोगको भावना वृद्धि गर्ने, संस्कृतिको मेलमिलाप र भ्रातृत्वको भावना जगाउने सजिलो माध्यम बनेको छ । यति मात्र होइन, शान्ति र सद्भावना पनि ओलम्पिकको उद्देश्य हो । बेइजिङ शीतकालीन ओलम्पिककै पनि ‘टुगेदर फर अ स्यर्ड फ्युचर’ (साझा भविष्यका लागि एकजुट) भन्ने नारा थियो तर समय समयमा ओलम्पिक खेल राजनीतिक अखडाको रूपमा पनि प्रयोग भएको छ ।
बेइजिङ शीतकालीन अोलम्पिक पनि सुरु हुनुअघि राजनीतिक कारणले विवादास्पद बनिसकेको थियो । चीनबाट मानवअधिकार हनन् भएको आरोप लगाउँदै कैयौँ देशले ओलम्पिकको उद्घाटन समारोह बहिष्कार गरे । अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियालगायत १५ देशले बेइजिङ शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरे ।
मुख्यतः सिनचिया प्रान्तमा उइगर मुसलमानलाई दमन गरेको, हङकङमा लोकतन्त्रलाई समर्थन गर्नेहरूको विरोध प्रदर्शनलाई दबाउन खोजेको र ताइवानलाई थिचोमिचो गरेको आरोप चीनमाथि लागेको थियो । चीनकी महिला टेनिस खेलाडी पेङ सुवाईलाई लिएर यौन उत्पीडन लुकाउन खोजेको मामिला पनि अगाडि आएको थियो । ओलम्पिक उद्घाटनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सामेल हुनुभयो । रुस र युक्रेनको विवाद चरम सीमामा रहेको बेला यो भ्रमणलाई पनि फरक नजरले हेरियो । पश्चिमी देशले चीनले ओलम्पिकलाई राजनीतिका लागि प्रयोग ग¥यो भन्ने आरोप पनि लगायो । चीन पनि हिउँदे ओलम्पिकलाई राजनीति गर्न खोजेको भन्दै प्रतिकारमा उत्रियो । उसले आफ्नो छवि गिराउने कोसिस भइरहेको भन्दै ओलम्पिक भावना विपरीत राजनीतिक भावना नराख्न आह्वान ग¥यो ।
खेलको समयमा पनि केही विवाद देखिए । शीतकालीन ओलम्पिकमा सहभागी रुसकी १५ वर्षीया फिगर स्केटर कामिला वालिएवा खेल्नुभन्दा अघि नै डोपिङ परीक्षणमा असफल हुनुभयो । तैपनि उहाँलाई खेल्न दिइयो । कामिला कम उमेरमा नै युवाको प्रेरणा बन्न सफल खेलाडी हुनुहुन्छ । उहाँ स्वर्ण पदकको दाबेदार पनि हुनुहुन्थ्यो । उहाँलाई अवार्ड सेरेमोनीमा सहभागी हुन नसक्ने गरी खेल्न दिइयो । कामिला खेलको समयमा लडेपछि चौथो स्थानमा आउनुभयो । आईओसीको ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टेस’ले कामिलाको कम उमेरलाई ध्यान दिँदै यो निर्णय गरेको जनाएको छ । यद्यपि यसले आईओसीलाई पनि विवादमा तान्यो ।
नर्वेको वर्चस्व
शीतकालीन ओलम्पिकमा नर्वे अब्बल राष्ट्र हो । ५० लाखभन्दा केही बढी मात्र जनसङ्ख्या भएको यो युरोपेली राष्ट्र बेइजिङ शीतकालीन ओलम्पिकको पदक तालिकामा सबभन्दा अगाडि रह्यो । हुन त नर्वेले नै पदक तालिकाको शीर्ष स्थान कब्जा गर्छ भन्ने अनुमान पहिले नै गरिएको थियो । सबैको अपेक्षाअनुरूप नर्वेले सबभन्दा बढी १६ स्वर्ण, आठ रजत १३ काँस्यसहित ३७ पदक जित्यो । पछिल्लो संस्करणमा पनि नर्वे नै शीर्ष स्थानमा रहेको थियो । बेइजिङ ओलम्पिकमा खेलाइएको १५ मध्ये नौ इभेन्टमा नर्वेले पदक जितेको थियो । जर्मनी १२ स्वर्ण, १० रजत र पाँच काँस्य पदक जितेर दोस्रो भयो । आयोजक चीनले आफूलाई तेस्रो स्थानमा उभ्यायो । चीनले नौ स्वर्ण, चार रजत र दुई काँस्य पदक जित्यो । शीतकालीन ओलम्पिकमा चीनको यो अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन हो । अमेरिका आठ स्वर्ण, दस रजत र सात काँस्य जितेर चौथो स्थानमा रह्यो । स्विडेन, नेदरल्यान्ड्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, रुस र फ्रान्स शीर्ष दसमा रहे । धेरै पदक जित्ने मामिलामा रुस दोस्रो स्थानमा रह्यो । रुसले छ स्वर्ण, १२ रजत र १४ काँस्यसहित कुल ३२ पदक हात पारेको थियो ।
कृत्रिम हिउँ
बेइजिङ सहरको तापक्रम हिउँ जम्ने खालको छैन । त्यसैले त्यहाँ हिउँमा खेलिने खेल खेलाउन सम्भव थिएन तर बेइजिङले कृत्रिम हिउँ उत्पादन ग¥यो । यसपालिको शीतकालीन ओलम्पिक शतप्रतिशत कृत्रिम हिउँमा खेलाइयो । बेइजिङ शीतकालीन ओलम्पिकका लागि हिउँ बनाउने मेसिनबाट गत नोभेभ्बरदेखि नै हिउँ निकालिएको थियो ।
शीतकालीन ओलम्पिकको आयोजना सुरु भएको ८८ वर्ष पुगेको छ । पहिलो पटक सन् १९२४ मा फ्रान्समा यो खेल आयोजना गरिएको थियो । यसपछि शतप्रतिशत कृत्रिम हिउँमा ओलम्पिक आयोजना भएको यो पहिलो पटक हो । यसअघि, सन् २०१४ मा रुसको सोचीमा यो खेल हुँदा ८० प्रतिशत र सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा पछिल्लो हिउँदे ओलम्पिक हुँदा ९० प्रतिशत जति कृत्रिम हिउँको प्रयोग गरिएको थियो । सन् १९६४ मा अस्ट्रियामा पहिलो पटक कृत्रिम हिउँको प्रयोग भएको हो । अस्ट्रियाको इंसबु्रकमा शीतकालीन ओलम्पिक आयोजना हुने समयमा हिउँ परेन । आयोजकलाई निकै समस्या प¥यो तर अस्ट्रियाको सेनाले हिमालबाट करिब २० हजार टुक्रा हिउँ काटेर ओलम्पिक आयोजना गरेको इतिहास पनि छ । सन् १९८० मा अमेरिकाको लेक प्लेसिडमा शीतकालीन ओलम्पिक हुँदा पहिलो पटक मेसिनबाट कृत्रिम हिउँ बनाइएको थियो ।
सन् २०२६ मा यसको अर्को संस्करण इटालीको मिलान कोर्टिनामा हुनेछ । यहहाँ ७० वर्षपछि यो खेल हुन लागेको हो । पछिल्लो पटक सन् १९५६ मा यहाँ यो खेल हुँदा हिउँ नै हिउँ थियो तर यसबीच यहाँ पनि तापक्रम करिब ६ डिग्री फरक आइसकेको बताइएको छ । त्यसैले अब शीतकालीन ओलम्पिकको भविष्य कृत्रिम हिउँमा नै छ भन्दा फरक नपर्ला ।
क्लोज लुप सिस्टम
कोरोना सङ्क्रमणको खतरा चारैतिर रहेको बेला चीनले यो खेलको आयोजना गरेको हो । त्यसैले खेलाडीहरूको स्वास्थ्य र सुरक्षा प्रमुख चुनौती थियो । चीनले बेइजिङ शीतकालीन ओलम्पिकमा सहभागी सबैका लागि ‘क्लोज लुप सिस्टम’ लागू ग¥यो । अहिलेसम्म कुनै खेलकुद प्रतियोगिताको आयोजनामा यति कडा नियम लागू गरिएको थिएन भनेर भनिन्छ । खेलाडीमा कोरोना सङ्क्रमण नहोस् भनेर खेलसँग सम्बन्धित व्यक्तिहरू एक ‘क्लोज लुप’ भित्र रहनुपर्ने नियम बनाइएको थियो । सहभागी खेलाडी, पदाधिकारी र अन्य अधिकारीको हकमा सबैले हरेक दिन कोरोना परीक्षण गर्नुपथ्र्यो । कसैलाई होटल र आयोजना स्थल बाहिर जाने अनुमति थिएन । बाहिर घुम्न निषेध गरियो । यसबीच पनि केही खेलाडी कोरोना सङ्क्रमित बने । यद्यपि ओलम्पिक जस्तो खेलकुद मेलाको आयोजनामा कोही कोही सङ्क्रमित हुनु बेवास्ता गर्न सकिने विषय हो भन्दा फरक पर्दैन ।
शीतकालीन खेलमा नेपाल
ओलम्पिकमा खेल्ने सपना प्रत्येक खेलाडीले साँचेको हुन्छ । ओलम्पिकमा खेल्ने खेलाडी सधैँका लागि ओलम्पियन हुन्छन् । जुन विश्व खेलकुदमै ठूलो सम्मान हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल लगातार ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुँदै आएको छ तर शीतकालीन ओलम्पिकमा नेपालको सहभागिता अहिलेसम्म हुन सकेको छैन । नेपालले भविष्यमा पनि यो खेल खेल्ने सम्भावना कहीँ कतै देखिँदैन । हुन त यस पटक बेइजिङ ओलम्पिकका लागि नेपालले तयारी गरेको थियो । बेइजिङ ओलम्पिकलाई ध्यानमा राखी अल्पाइन स्किका खेलाडी सफलराम श्रेष्ठलाई प्रशिक्षणमा पनि राखिएको थियो तर कोभिडका कारण प्रशिक्षण निरन्तर हुन सकेन ।
नेपाल हिमाली देश हो तर हामीकहाँ शीतकालीन खेलकुद न्यून मात्रामा हुन्छ । आइस स्कीका केही खेलाडी छन् । नेपालमा आइस हकी सङ्घ दर्ता छ तर खेलाडी छैनन् । यस्तो स्थितिमा नेपालले शीतकालीन ओलम्पिकमा खेल्ने सपना देखेको पनि छैन ।
नेपालमा शीतकालीन खेलका पूर्वाधार विकास गर्न सकेमा भविष्य त उज्ज्वल छ । नेपाल स्कि सङ्घले चार वर्षदेखि लाङटाङ र मुस्ताङमा राष्ट्रिय स्की च्याम्पियनसिपको आयोजना गर्दै आएको छ । गत महिना सम्पन्न चौथो राष्ट्रिय स्की च्याम्पियनसिपबाट छनोट भएका चार जना खेलाडी अहिले एसियन स्की महासङ्घको आयोजनामा भइरहेको ३०औँ एसियन अल्पनाइन स्की च्याम्पियनसिपमा खेल्न लेबनानमा छन् ।
पूर्वाधार बनाउन सकियो भने शीतकालीन खेलको विकास मात्र होइन, पर्यटन प्रवद्र्धनमा सहायक हुन्छ । नेपाललाई अल्पाइन स्कीकै गन्तव्य बनाउन सकिन्छ । नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको देश हो । यस्तो देशमा स्की गर्ने चाहना यस खेलका खेलाडी हरेक हुन्छन् । त्यसैले नतिजामुखी शीतकालीन खेलको विकास र यसमार्फत् पर्यटन प्रवद्र्धनमा सरकारको पनि ध्यान पुग्नु पर्छ ।
यो समाचार गोरखापत्र मा साभार छ
प्रतिक्रिया दिनुहोस्