हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्ने भएका छन् । मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बास बस्न लागेकी हुन् ।

नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार बिहान मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भईरहेको र कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए । बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए ।

त्यसैगरी, उक्त बैठकले प्रदेशभरका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको थियो । साथै, मन्त्रिपरिषद बैठकले यसअघिनै चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न र सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत गरेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी