बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयको आफ्नै बस नहुँदा टाढाबाट पठनपाठनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बस किनेर दिने वाचा गर्नुभए पनि तीन वर्षसम्म पनि सो वाचा पूरा नभएको विद्यालयका शिक्षकहरुको भनाइ छ ।

नमुना विद्यालयको निरीक्षण गर्दै २०७६ साल मङ्सिर २९ गते विद्यालयको वार्षिकोत्सावमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दा मुख्यमन्त्री भट्टले विद्यालयलाई प्रदेश सरकारले एउटा बस किनेर उपलब्ध गराउने घोषणा गर्नुभएको उहाँहरुको भनाइ छ ।

मुख्यमन्त्रीले विद्यालयको प्राङ्गणमै आएर बस किनेर दिने घोषणा गर्दा यहाँ पठनपाठन गर्ने विद्यार्थी खुसी भएको शिक्षकले स्मरण गर्नुभयो । बस दिने घोषणा गरेको तेस्रो वर्ष सुरु भइसक्दा पनि बस नआउँदा विद्यार्थी निराश बनेको एक शिक्षकले बताउनुभयो ।

बस माग गर्न जाँदा कार्यविधि बन्न ढिलो भएका कारण समयमै बस पाउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले बताउनुभयो । अध्यक्ष बिष्टले भन्नुभयो, “कार्यविधि नबन्दै मुख्यमन्त्रीले बस किनेर दिने घोषणा गर्नुभयो । बस माग गर्न जाँदा कार्यविधि नबनेका कारण किन्न समस्या भएको जानकारी पयौंं । अब कार्यविधि बनिसकेकाले छिट्टै उपलब्ध गराउने आश्वासन पाएका छौं ।”

ज्ञानेश्वर माध्यमिक विद्यालय बैतडीको पहिलो नमुना सरकारी विद्यालय मानिन्छ । यहाँ ५५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जानकारी गराएको छ । कक्षा ९ देखि १२ सम्म ओभरसियर विषयको प्राविधिक पढाइ हुनेगरेको विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले बताउनुभयो ।

नमुना विद्यालय भएका कारण टाढाका विद्यार्थी भर्ना हुने दर वर्षिक रुपमा वृद्धि भइरहे पनि बस नहुँदा डेढ घण्टाको पैदल दूरी हिँडेर विद्यालय आउनुपर्ने समस्या रहेको विद्यार्थीले बताएका छन् । टाढाका विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माणका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । खेल मैदान, वाल उद्यान र प्राविधिक विषयको पढाइ हुने भएकाले ज्ञोनेश्वर नमुना विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो