निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–धनगढी–पोखरा सिधा हवाई उडान सुरु गरेको छ।

धनगढी विमानस्थलमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि पहिलो उडान भरेको बुद्ध एयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गरे।

पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौं हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको बचत हुने धनगढीस्थित बुद्ध एयरका स्टेसन प्रमुख बुधराम माझीले बताए।

‘पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेका छौं,’ माझीले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छौं।’ पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताए।

नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरी पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्ध एयर सहमत भएको बताए।

‘अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौंको मात्र प्याकेज बनाउन पाउँथ्यौं, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौं,’ उनले भने ‘यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।’

नाटा सुदूरपश्चिमले विगत केही वर्षदेखि नै पोखरा–धनगढीको सिधा हवाई सेवा सुरु गर्न विमान कम्पनीसँग आग्रह गर्दै आएको थियो। धनगढी विमानस्थलबाट काठमाडौं–धनगढी–काठमाडौंसम्म बुद्ध लगायत निजी विमान कम्पनीले दैनिक हवाई सेवा सञ्चालन गर्दै आएका छन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो