


जन्मको आधारमा मानिसले मानिसलाई गर्ने जातीय विभेद भारतीय उपमहाद्वीपको विशिष्ट विभेद हो, जो कति जटिल र जब्बर छ भने यसले भारतीय उपमहाद्वीपको हिन्दु समाजको समग्र मानव विकासलाई नै चुनौती दिएको छ । मान्छेको उत्पत्ति, समाजको उद्विकास र तमाम मानव संघर्षका वैज्ञानिक आधारलाई अस्वीकार गर्ने जात–व्यवस्था आज पनि नेपाल– भारतलगायत दक्षिण एसियाली हिन्दु समाज र राज्य सञ्चालनको प्रमुख सिद्धान्तकै रूपमा छ । आजको भूमण्डलीकृत पुँजीवादी विश्व–व्यवस्थामा, उत्पादन र उपभोगका साधनहरूको विश्वव्यापी विस्तार भएजस्तै जातीय विभेदको पनि विस्तार भएको छ । भारतीय उपमहाद्वीपको जात–व्यवस्था आज संसारका सबै कुनामा पुगेको छ, जहाँ दक्षिण एसियाली हिन्दुहरू पुगेका छन् ।बर्सेनि सयौं दलित जातकै कारण कुटिएका, मारिएका छन् । गाउँ–बस्तीबाट लखेटिएका छन् । नेपालको सन्दर्भमा नवराज विक, अजित मिजारहरू पछिल्ला प्रतिनिधि घटना हुन्, जसले नेपाली समाजमा विद्यमान जात–व्यवस्थाको असली अनुहार देखाउँछ । र, न्यायको सवालमा दलित समुदायमाथि राज्य कुन हदसम्म जातिवादी हुन सक्छ भन्ने बोध गराउँछ ।
दक्षिण एसियाली समाज मूलतः धार्मिक छ । र, हिन्दु धर्म अनि त्यसले निर्माण गरेको वर्णव्यवस्थामा आधारित जातीय उच–नीचमा विभाजित छ । आहुतिकृत ‘जात–वार्ता’ का सम्पादक संगीत पुस्तकको प्रस्तावनामा लेख्छन्, ‘दक्षिण एसियाली समाजको ठूलो हिस्सालाई एउटा ‘दैव’ ले शासन गरिरहेको छ– जात व्यवस्थाको दैव ।’ मान्छेले मान्छेलाई पशुभन्दा पनि तल राख्ने र छुवाछुतजस्तो निकृष्ट व्यवहार गर्ने यो ‘दैव’ निर्माणको जगमा छ– हिन्दुहरूको ‘वेद’ । चार वेदमा पनि सबैभन्दा पुरानो ‘ऋग्वेद’ अनुसार, एउटै जैविक मानिसको उत्पत्तिको पनि भिन्नाभिन्नै स्थान र महत्त्व छ । ऋग्वेदको दसौं मण्डलामा उल्लेख भएअनुसार, विराट पुरुषको मुखबाट (ब्राह्मण), पाखुराबाट (क्षत्री), जाङबाट (वैश्य) र पैतालाबाट (शूद्र) उत्पत्ति भएका छन् । यसरी उत्पत्ति भएका ब्राह्मण जन्मजात शुद्ध र ज्ञानी छन् । क्षत्री सत्ता चलाउन सक्ने शक्तिशाली छन् । वैश्य उत्पादन र आर्थिक कार्य गर्न सक्षम छन् र शूद्र, यी तिनै वर्णका जातिहरूको सेवा गर्न बाध्य छन् ।
वेदलगायत ‘उपनिषद्’, ‘महाभारत’, ‘रामायण’ र अन्य ग्रन्थमा पनि विभिन्न समय–प्रसंगमा जातीय उचनीच र विभेद व्यवस्था गरिएको छ । चाहे त्यो अंगराज नरेश कर्णलाई शुतपुत्र भएकै कारण धनुर्विद्या प्रदर्शनीमा गरिएको अस्वीकार होस् वा क्षेत्रीय अर्जुनलाई श्रेष्ठ बनाउन गुरु द्रोणाचार्यले एकलव्यमाथि गरेको बेइमानीपूर्ण कपट होस् वा
‘एनाइलेसन अफ कास्ट’ किताबमा अम्बेडकर लेख्छन्, ‘हिन्दु धर्म भनेकै नितान्त जातको व्यवस्था हो । जातको उचनीच व्यवस्थाबाहेक यस धर्ममा अरू केही पनि छैन ।’ गैरभारतीय प्राज्ञबाट भारतीय समाजको सुरुवाती अध्ययन गरेका फ्रेन्च मानवशास्त्री लुइस डुमन्टले सन् १९७२ मा प्रकाशित पुस्तक ‘होमो हाइरारिकिकस’ मा लेखेका छन्– भारतीय समाजको निर्माणमा धर्मले स्थापित गरेको शुद्ध र अशुद्ध (पवित्र–अपवित्र) जस्ता आदर्शवादी अवधारणाले महत्त्वपूर्ण भूमिका खेलेको छ, जसका कारण जातीय उचनीचको अवस्था सिर्जना भएको छ । र, अन्ततः सोही जातीय उचनीचले तदनुरूपको सामाजिक हैसियत, शक्ति–संरचना र सम्बन्धहरूको निर्माण गरेको छ । त्यसैका कारण कोही जन्मजात शुद्ध र पवित्र छन्, कोही अशुद्ध र अपवित्र । तसर्थ आज दक्षिण एसियाली हिन्दु समाजमा जुन किसिमको जब्बर जात–व्यवस्था छ, त्यसको मूलमा हिन्दु धर्म छ ।
नेपाली समाज चरम जातिवादमा जकडिएको छ, फलस्वरूप समाजको यथोचित विकास हुन सकेको छैन । ‘हाम्रो समाज ः एक अध्ययन’ मा जनकलाल शर्मा लेख्छन्, ‘समाजमा यस्तो जातिवादको भावना ल्याउन मुख्य दुई तत्त्वले काम गरेको पाइन्छ । एउटा हिन्दु धर्मावलम्बीहरूका आदिग्रन्थ वेद, वेदको व्याख्या भएका ब्राह्मणग्रन्थ, उपनिषद्, स्मृति र पुराण आदि । अर्को आजको नृतत्त्वशास्त्र र तुलनात्मक भाषाशास्त्र ।’ तर, समाजलाई गतिशील बनाउने र मान्छेको अधिकतम विकास अनि स्वतन्त्रताका लागि धर्मको आवश्यकता नै नपर्ने जिकिर छ आहुतिको । ‘जात वार्ता’ मा आहुति भन्छन्, ‘धर्म समाजका निम्ति अनिवार्य विषय नै होइन । समाजका लागि त विचारधारा र संस्कृति मात्र स्वाभाविक र अनिवार्य हन् ।’
मनुवादले निर्देशन गरेको हिन्दु समाजको धर्म, राज्य र समाज–व्यवस्था अन्ततः जातमा गएर टुंगिएको छ । ‘कास्ट ः द ओरिजिन्स अफ आवर डिस्कन्टेन्टस’ किताबमा इजावेल विल्कर्सन भन्छिन्, ‘जात भनेको कुनै भावना वा नैतिकता होइन । यो त्यस्तो शक्ति हो, जुन कसैसँग हुन्छ, कसैसँग हुँदैन । जातको उचनीच अवस्थाअनुसार यसले मानिसलाई, इज्जत, प्रतिष्ठा, प्रथामिकता, अवसर, स्रोतसाधनमा पहुँच र सहजता उपलब्ध गराउँछ ।’
राजनीति–जात
मानवशास्त्री डोरबहादुर विष्टले ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट’ मा भनेका छन्, ‘इसाको प्रथम शताब्दीसम्ममा पूर्ण रूपमा विकसित नेपालको मंगोल मूलको किरात राज्य किरातशास्त्र मुन्दुममा आधारित थियो, जहाँ वर्णव्यवस्था थिएन ।’ विष्टका अनुसार, जात–व्यवस्था नेपालको रैथाने व्यवस्था थिएन । चौधौँ शताब्दीको उत्तरार्द्धमा राजा जयस्थिति मल्लले काठमाडौंमा जात प्रथाको सिद्धान्त र मनुस्मृतिका आधारमा हिन्दु संहिता लागू गरेर पूर्ण रूपमा जात–व्यवस्था स्थापित गरे । पृथ्वीनारायण शाहले असली हिन्दुस्तानको निर्माण गर्ने नारासहित लागु गरेको हिन्दुधर्मीय वर्णव्यवस्था सिंगै नेपालको शासक जातीय धर्म बन्न पुग्यो (नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष, आहुति) । शाहले जुनजुन भूगोल जिते, ती ठाउँमा जात व्यवस्थाअनुसारको शासन चलाउनू भनेर हुकुम फर्माए । जस्तो– क्षत्रीले शासन गर्ने, मतवाली र दलितलाई शासन व्यवस्थामा प्रवेश नदिने । बाहुनलाई न्यायशास्त्रको काम मात्र लगाउने, क्षत्रीलाई शासन चलाउने र राज्य विस्तार गर्न लगाउने शाहको तत्कालीन कार्य जात–व्यवस्था स्थापना हेतु थियो, जसलाई जंगबहादुर राणाले मुलुकी ऐन जारी गरी जातै किटानसाथ कानुनी व्यवस्थामार्फत नेपाली राजनीतिमा जात–व्यवस्थालाई स्थापित गरे । २००७ सालको परिवर्तनपछि नेपाली राजनीति निरन्तर घर्षणमा चल्यो । गएको ७० वर्ष नेपालको सामाजिक राजनीतिक आन्दोलनहरूले क्रान्तिकारी परिवर्तनहरू गरे, तर ती वर्णव्यवस्थाले उच्च जाति बनाएकाहरूकै कब्जामा रहे ।
कार्ल मार्क्सले भने– शोषण नै मानिसको दुःखको कारण हो । दक्षिण एसियाको हिन्दु जात–व्यवस्थामार्फत भने निरन्तर मानिसको शोषण मानिसले नै गरिरहेको छ । मार्क्सले शोषणबाट मुक्त हुन संघर्षको बाटो पनि देखाए, जुन बाटोमा जात–व्यवस्थाको सबैभन्दा पीँधमा रहेका दलितहरू निसंकोच हिँडे । तर, मान्छे भएर सम्मानित जीवन जिउने सपना भने साकार भएन । गएको ७० वर्षदेखि कम्युनिस्ट पार्टीको घनीभूत राजनीति चलेको नेपालमा सामाजिक रूपान्तरणको ठोस कम्युनिस्ट प्रक्रिया नै चलेन ।
कास्ट म्याटर्स
‘द परसिस्टेन्स अफ कास्ट ः द खैरलान्जी मर्डर्स एन्ड इन्डियाज हिडन अपार्थाइड’ मा प्राध्यापक एवं नागरिक अधिकारकर्मी आनन्द तेलतुम्बडे लेख्छन्, ‘भारतीय उपमहाद्वीपको जात–व्यवस्थाले सधैं नै संसारलाई गुमराहमा राखेको छ । यो विगतमा अत्यधिक मात्रामा लेखिएको विषय हो र आगामी दिनमा पनि लेखिनेछ । धेरै बौद्धिकहरूले यसको उत्पत्तिको गुह्य कुरा पत्ता लगाउने प्रयास गरे, तर अन्ततः त्यसले झन् द्विविधा बढाएको छ । धेरैले यसलाई परिभाषित गर्ने प्रयास गरे, तर यसको जटिलतालाई पहिल्याउन सकेनन् । धेरैले यसलाई सामन्तवादको उत्पादनको रूपमा बुझे र पुँजीवादी व्यवस्थाले यसको अन्त्य गर्ने अनुमान गरे । तर, ती सबै गलत साबित भए ।’
पछिल्लो समयका थोरै दलित र धेरै गैरदलित सार्वजनिक बौद्धिक वृत्तमा नेपाली समाजको जटिल जात–व्यवस्थालाई सामान्य रूपमा लिने चलन बढेको छ । स्मरणीय कुरा के छ भने जातीय भेदभाव र हिंसा कहिले पनि विगत होइन । यो त हामीले गर्व गर्ने गरेको हाम्रो चेतनालाई गिज्याइरहेको हाम्रो वर्तमान हो । ‘कास्ट म्याटर्स’ मा सुरज येङ्दे लेख्छन्, ‘दलित भइरहँदा म त्यस्तो संसारमा बाँचिरहेको हुन्छु, जहाँ मेरो उपस्थिति सहायक र ब्राह्मण अनि उसको सर्वोच्चता प्रमुख भएर रहन्छ ।’ येङ्दे थप्छन्– धेरै मानिसहरू विशेषगरी, गैरदलितहरू अझ भन्नुपर्दा, कथित उच्च जातिहरू जातको कुनै अर्थ छैन भन्छन् तर यथार्थ त्यस्तो होइन । दक्षिण भारतीय हिन्दु समाजको आर्थिक, समाजिक, राजनीतिक साथै संस्कृतिको हरेक कुनामा जात जब्बर छ, जातले अर्थ राख्छ (कास्ट म्याटर्स) ।
…
भारतीय उपमहाद्वीपमा जब्बर भएर बसेको जात–व्यवस्थालेे पुर्याएको आर्थिक, राजनीतिक, सामाजिक र मानसिक आघात डरलाग्दो छ । उनीहरूको समग्र जीवन र भावनामा पुगेको चोट समाज विज्ञानका सीमित अध्ययन र अनुसन्धान पद्धतिले बुझ्न र बुझाउन कठिन छ । तसर्थ, न्याय र अन्यायबीचको कठोर घर्षणमा दलितहरूले लामो संघर्ष गर्नुपर्ने कुरा अपरिहार्य छ ।
यतिबेला नेपालको राजनीतिक वैचारिकी सामाजिक न्यायसहित समाजवादको छ, तर समाजवादका सबै क्षेत्र जात–व्यवस्थाले जर्जर बनाएको छ । नेपालको आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरूमा जब्बर जात छ
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्