उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगप्रति समाजमा रहेको नकारात्मक धारणामा परिवर्तन गरी उपचार गरे यो रोग निको हुन्छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । एसोसिएसन फर आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल र साउथ वेस्टन स्टेट कलेजको आयोजनामा शुक्रबार यहाँ आयोजित २४औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस, २०७८ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले कुनै पनि रोगले प्रभावितलाई सामान्य नागरिकसरह नै आत्मसम्मान वृद्धि गर्दै आदर प्रकट गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा व्यवस्थापन विशेषज्ञ डा. राजेन्द्र केसीले मानिसलाई कुनै पनि दृष्टिकोणबाट आदर र सम्मानमा कमबेसी गर्नुहुँदैन भन्दै आत्मसम्मान अभिवृद्धि गर्न व्यक्ति स्वयं पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एसोसिएसन फर आइडिया नेपालका संयोजक अमरबहादुर तिमिल्सिनाले आफूहरूले २०५५ सालदेखि संस्थागत रूपमा कुष्ठ रोग प्रभावितको हक अधिकारका लागि काम गर्दै आएको बताउँदै यस्ता रोगीलाई विभेद गर्ने केही कानुन परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

द लेप्रोसी मिसन नेपालका निर्देशक शोभाकर कँडेलले कुष्ठ रोग मुक्त नेपालको अभियानमा सबैको हातेमालो आवश्यक हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा भारत तथा बङ्गलादेशका प्रतिनिधिको सहभागिता थियो । कुष्ठ रोग मुक्त नेपालको अभियानमा सक्रिय विभिन्न व्यक्तिलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो